नेपालको निर्णायक खेलमा युएईले पहिले ब्याटिङ गर्दै, प्रधानमन्त्री दाहाल त्रिवि मैदानमा

चैत्र २, २०७९ |कान्तिपुर टीभी संवाददाता
नेपालको निर्णायक खेलमा युएईले पहिले ब्याटिङ गर्दै, प्रधानमन्त्री दाहाल त्रिवि मैदानमा

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टुको अन्तिम खेलमा युएईले टस जितेर नेपालविरुद्ध ब्याटिङ रोजेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान साढे ९ बजे सुरु भएको खेलमा युएईले ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गरिरहेको छ ।

खेल सुरु हुनुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल त्रिवि क्रिकेट मैदान पुगेका छन् । उनले खेलाडीसँग हात मिलाउँदै शुभकामना दिए । साथै दुवै देशको राष्ट्रिय गानको क्रममा मैदानमा खेलाडीसँगै उभिए । छोरीहरु रेणु दाहाल र गंगा दाहालसहित दाहाल त्रिवि मैदान पुगेका हुन् । 

त्रिवि मैदानमा नेपाली समर्थकहरुको ठूलो संख्यामा उपस्थिति छ । १५ हजार दर्शक क्षमताको मैदानमा सबै टिकेट बिक्री भइसकेको क्यानले जनाएको छ । टिकट नपाएका दर्शकहरुले खेल हेर्न पाउनु पर्ने माग गर्दै मैदान प्रवेशको प्रयास गर्दा सुरक्षाकर्मीले लाठी चार्ज गर्नु परेको छ ।

युएईविरुद्ध जित निकाले मात्र नेपाल लिग टुको शीर्ष तीनमा अटाउँदै जिम्बाब्वेमा हुने ग्लोबल छनोटमा सहभागी हुन पाउने छ । त्यसैले नेपालको अन्तिम लक्ष्य जित नै हुनेछ । नतिजा युएईको पक्षमा गए नेपाल चौथो स्थानमा यथावत रहँदै नामिबियामा हुने प्लेअफका लागि जानु पर्नेछ ।

नेपाल पराजित हुँदाको फाइदा नामिबियाले उठाउने छ । किन कि नामिबियाले शीर्ष तीनको स्थान कब्जा गर्नेछ ।

अन्तिम खेल खेल्नु अघि नेपालको ३८ अंक छ भने नामिबियाले ३६ खेलमा ३९ अंक बनाएको छ । यदि खेलमा वर्षा बाधक बनेमा वा एक - एक अंक बाँड्ने अवस्था आए नामिबियानै क्वालिफायर्स खेल्ने भाग्यमानी बन्ने छ । नेपाल जारी सिरिजमा अपराजित छ । तर युएईले नेपाललाई चुनौती दिन सक्नेछ । युएई समान खेलमा ३३ अंकसहित तालिकाको छैटौँ स्थानमा छ ।

युएईले अघिल्लो खेलमा पपुवा न्युगिनीलाई ६ विकेटले हराउँदै सिरिजमा कमब्याक गरेको थियो । जारी सिरिजमा यी दुईबीच भेट हुँदा नेपालले एक सय ७७ रनको कीर्तिमानी रन अन्तरको जित हात पारेको थियो ।

लिग टुमा शीर्ष स्थानमा रहेको स्कटल्यान्ड र दोस्रो स्थान सुरक्षित गरेको ओमान भने विश्वकप छनोटमा पुगिसकेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement