काठमाडौं । नेपालको सीमानजिक तिब्बतको दिङ्गे काउन्टीमा गएको ६ दशमलव ८ रेक्टर स्केलको भूकम्पले नेपालतर्फ सोलुखुम्बुमा ८ तथा संखुवासभामा एक घरमा क्षति पुगेको छ ।
सिन्धुपाल्चोकको एउटा इलाका प्रहरी चौकीको भवन समेत चर्किएको छ । काठमाडौं उपत्यकासहित पूर्वी र मध्य नेपालसम्म भूकम्पले धक्का दियो । भूकम्पमा परेर विभिन्न जिल्लामा गरी १३ जना घाइते भएका छन् । चीनमा गएको यो भूकम्पले नेपालीलाई फेरि एकपटक त्रसित बनाएको छ । त्यसो त नेपालमा पुसमा मात्रै ४ रेक्टर स्केलमाथिका ११ वटा भूकम्प गइसकेका छन् । पृथ्वीको सतहमुनि रहेको भारतीय प्लेट प्रतिवर्ष उत्तरमा युरेसियन प्लेटतर्फ सरिरहेकाले हिमालय क्षेत्रमा भूकम्पीय दरार पैदा भइरहेको विज्ञले बताइरहेका छन्। लगातार धक्काहरु महसुस भइरहँदा भूकम्प प्रतिकार्यमा नेपालको क्षमता कति छ त ?
पुस छ गते बाजुराको जगन्नाथ गाउँपालिका गोत्रे केन्द्रविन्दु बनाएर ५ दशमलव २ रेक्टर स्केलको भूकम्प गयो । त्यसयता पनि पश्चिम नेपालमा भूकम्प गइ नै रहेका छन् । जाजरकोट केन्द्रविन्दु बनाएर ६.४ रेक्टर स्केलको भूकम्प गएको १४ महिना बित्दै छ । त्यो कहालीलाग्दो र त्रासदीपूर्ण रात बिर्सि नसक्दै जाजरकोटमै यही पुसमा ४ रेक्टर स्केलभन्दा ठूलो भूकम्प गएको छ । पुसमा मात्रै ४ रेक्टर स्केलमाथिका ११ वटा भूकम्प गइसकेका छन् । कर्णाली र सुदूरपश्चिम प्रदेशका स्थानीयबासीलाई लगातारका यी कम्पनहरुले तर्साइरहेको छ। ‘भूकम्प आएपछि घर बाहिर निक्लेका हौं, घर चिराचिरा परेको छ । भित्र पस्नै डर लाग्छ,’ बाजुरा जगन्नाथ गाउँपालिका–५ कि पानकला दमाईले भन्नुभयो ।
चीनको तिब्बत केन्द्रबिन्दु भएर मंगलबार बिहान ६.५० मा गएको भूकम्पले नेपालको मध्य भागसम्म हल्लायो । त्यसयता प्रत्येक आधा घन्टामा १० वटा पराकम्पन मापन भइरहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका सिनियर जियोलोजिष्ट भरतप्रसाद कोइरालाले बताउनु भयो ।
नेपाल भूकम्पको उच्च जोखिममा पर्छ । हरेक दिन १० देखि १२ वटासम्म साना-ठूला भूकम्प मापन हुन्छन् । केन्द्रको तथ्यांकअनुसार २०७९ कात्तिकयता नेपालका सुदूरपश्चिम र कर्णाली प्रदेशमा मात्रै ४ रेक्टर स्केलमाथिका ३६ सय भन्दा बढी भूकम्प रेकर्ड भएका छन्।
तर, सरकारले न पर्याप्त पूर्वतयारी गर्न सकेको छ न भूकम्पपछिको प्रतिकार्य योजना नै बनाउन सकेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराई ठूला भूकम्पसँग लड्ने सामर्थ्य हामीसँग नभएको स्वीकार गर्नुहुन्छ । ‘सामान्य भूकम्पलाई त हामीले पनि व्यवस्थापन गर्छ सक्छौं तर ठूलो भूकम्प आयो भने हाम्रो तयारी अपुग हुनसक्ने अवस्था हुन्छ, ’ उहाँले भन्नुभयो ।
सरकारले नै गरेको एक अध्ययनले घर र सार्वजनिक भवनहरु बहुप्रकोपीय जोखिमले कमजोर देखाएको छ । १ सय ४५ पालिकाका ३० हजार घर संरचनाको अध्ययन गर्दा ९ दशमलव ४ प्रतिशत संरचनामात्रै सबै खाले विपद्को जोखिमबाट मुक्त छन् । ५१.९ प्रतिशत भने अधिक सबलीकरण गर्नुपर्ने र ११.४ भने पुनर्निर्माण गरिहाल्नु पर्ने देखिएको छ । मनाङ र डोटीमा सबैभन्दा कमजोर संरचना छन् । यही अध्ययनलाई आधार मान्दा पनि बहुप्रकोपीय जोखिमको चपेटामा रहेको नेपालका लागि भूकम्प सधैंको त्रास बनेको छ ।