सभामुखको अभिव्यक्तिप्रति संसद्‌मै विरोध

चैत्र ५, २०७९ |कान्तिपुर टीभी संवाददाता
सभामुखको अभिव्यक्तिप्रति संसद्‌मै विरोध

काठमाडौं । सभामुख देवराज घिमिरेले ‘पत्रकार बिक्रीमा छन्’ भनेर दिएको अभिव्यक्तिप्रति संसद बैठकमा विरोध जनाइएको छ ।

सभामुख घिमिरेलाई शुक्रबार भेट्न पुगेका नेपाल पत्रकार महासंघका प्रतिनिधि मण्डलसँग कुराकानी गर्दै उनले पत्रकारहरु बिक्रीमा रहेका अभिव्यक्ति दिएका थिए । आइतबारको संसद् बैठकमा सांसदहरुले सोही अभिव्यक्तिप्रति विरोध जनाएका हुन् ।

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले व्यवस्थापिकाको प्रमुखको अभिव्यक्तिले प्रेस स्वतन्त्रतामाथि आघात पुगेको जनाए । खतिवडाले सभामुखको अभिव्यक्तिले प्रेस स्वतन्त्रतामाथि आघात पुगेको भन्दै सभामुखको त्यसतर्फ ध्यानाकर्षण गराए ।

‘सम्माननीय सभामुखले पत्रकार बिक्रीमा छन् भन्ने अभिव्यक्ति दिएर चर्चामा हुनुहुन्छ । व्यवस्थापिकाको प्रमुखले नै यस्तो अभिव्यक्ति दिँदा प्रेस स्वतन्त्रतामाथि परेको आघातको बारेमा सोचिएको छ कि छैन ? त्यतातिर पनि ध्यान जाओस्,’ उनले भने ।

त्यसैगरी नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले बिक्री हुने पत्रकार कुन-कुन हुन् भनेर पत्ता लगाउन सभामुखले छानबिन समिति बनाउनुपर्ने माग गरे । ‘सभामुख महोदयको अर्को एउटा आएको छ, पत्रकारहरुको बारे । अब हुनत पत्रकारहरुको बारे यहाँले अध्ययन गरेर भन्नुभएको भए छानबिन समिति नै बनाउनुपर्‍यो,’ उनले भने, ‘तर सबै पत्रकार त्यस्तो नहोला । कुन-कुन हो ? पित पत्रकारिता चलाउने । त्योचाहिँ हामीलाई सभामुख महोदयबाट एउटा छानबिन समिति हुनुपर्‍यो ।’

उनले सभामुखबाट उठेको विषय सार्वजनिक महत्त्वको विषय भएको उल्लेख गर्दै बिक्री हुने पत्रकारहरुका बारेमा छानबिन हुनैपर्ने धारणा राखे ।

यो पनि...

सभामुखलाई प्रेम सुवालको प्रश्न- को को हुन् पित पत्रकारिता चलाउने ?


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.