बालुवाटारमा १० दलको सहमति : विश्वासको मत र विधेयकमा एकैमत (भिडियोसहित)

चैत्र ४, २०७९ |कान्तिपुर टीभी संवाददाता
बालुवाटारमा १० दलको सहमति : विश्वासको मत र विधेयकमा एकैमत (भिडियोसहित)

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता साझेदार १० दलको बैठक सकिएको छ । सो बैठकमा आइतबार संसदमा प्रस्तुत हुने विधेयक र प्रधानमन्त्रीको विश्वासको मतमा सबै एकजुट भएर अगाडि सहमति जुटेको छ ।

आइतबार संसदमा सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधयेक संसद्मा दर्ता हुँदै छ भने सोमबार प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिँदै छन् ।

 यी दुई विषयमा केन्द्रित रहेर बसेको आजको बैठकमा सबैदलबीच एकमत भएर अगाडि बढ्ने सहमति जुटेको प्रधानमन्त्रीको सचिवालय सदस्य सूर्यकिरण शर्माले कान्तिपुर टेलिभिजनलाई बताए ।

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सीके राउत, आम जनता पार्टीका अध्यक्ष प्रभु शाह लगायत सत्तासाझेदार १० दलका नेता सहभागी थिए । 

सरकारले सोमबार संसद्‌मा विश्वासको मत लिने तयारी गरेको छ । सरकारबाट नेकपा एमाले तथा राप्रपाले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले पुन: विश्वासको मत लिन लागेका हुन् । पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका दाहालले पुस २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिएका थिए ।

‘प्रधानमन्त्रीलाई विश्वासको मत दिनेबारेमा १० दलीय गठबन्धनका नेताहरु सकारात्मक छौं’