३५ करोडको जितपुर सहरी परियोजना अन्तिम चरणमा

असार १९, २०८३ |विनोद घिमिरे
३५ करोडको जितपुर सहरी परियोजना अन्तिम चरणमा

धनकुटा । धनकुटा महालक्ष्मी नगरपालिकाको केन्द्र जितपुर बजारमा करिब ३५ करोड रुपैयाँ लागतमा निर्माणाधीन एकीकृत सहरी पूर्वाधार विकास कार्यक्रम अन्तिम चरणमा पुगेको छ । 

सडक, नाला, पैदलमार्ग, मिनीमार्केट तथा बस्ती विकास समेटिएको यो परियोजनाले नगर केन्द्रको स्वरूप नै परिवर्तन गर्ने अपेक्षा गरिएको छ । धनकुटा महालक्ष्मी नगरपालिकाको केन्द्र जितपुर बजार अहिले नयाँ स्वरूपमा देखिन थालेको छ। 

सहरी विकास मन्त्रालयको ३४ करोड ८६ लाख ५७ हजार रुपैयाँ लागतमा सञ्चालन भइरहेको एकीकृत सहरी पूर्वाधार विकास कार्यक्रम अन्तिम चरणमा पुगेको हो। आयोजनाअन्तर्गत जितपुर बजार, अस्पताल लाइन, रातामाटे, अर्खौलेहुँदै बजगाउँसम्म ७ दशमलव ८५ किलोमिटर सडकखण्डमा नाला, बेस र सब-बेस निर्माण सम्पन्न भइसकेको छ। 

अब कालोपत्रेको तयारी भइरहेको छ। मिनीमार्केट भवन पनि निर्माण सम्पन्न हुने चरणमा पुगेको छ। सडक, नाला र फुटपाथ निर्माणले आवतजावत सहज हुने, सेवा प्रवाह प्रभावकारी बन्ने तथा मिनीमार्केट सञ्चालनमा आएपछि व्यापार व्यवसाय थप व्यवस्थित हुने अपेक्षा स्थानीयको छ।

सहरी विकास तथा भवन निर्माण आयोजनाले कार्यान्वयन गरिरहेको यो आयोजना बिरुवा-साराश्रृष्टि निर्माण कम्पनीले ठेक्का पाएको छ । २०८० असोजमा सम्झौता भएको आयोजनाको काम २०८२ माघ महिनाभित्रै सम्पन्न गर्नुपर्ने सर्त थियो । तर, निर्माणमा ढिलाइ हुँदा हालसम्म करिब ८० प्रतिशत मात्रै भौतिक प्रगति भएको छ । 

वित्तीय प्रगति ५७ दशमलव ५३ प्रतिशत छ । यस अवधिसम्म सरकारले निर्माण कम्पनीलाई २० करोड ५५ लाख ५३ हजार रुपैयाँ भुक्तानी गरेको छ । निर्माण पक्षले रिङरोड क्षेत्रभित्रको जग्गा विवाद, केन्द्रबाट समयमै बजेट निकासा नहुनु, पछिल्लो महिना निर्माण सामग्री अभाव तथा मूल्य वृद्धिका कारण काम ढिलो भएको बताएको छ । 

जितपुर बजारलाई आधुनिक, व्यवस्थित र आकर्षक सहरी केन्द्रका रूपमा विकास गर्ने उद्देश्यले परियोजना सुरु गरिएको हो । यद्यपि काम सक्न निर्धारित समयभन्दा करिब डेढ वर्ष ढिलो भइसकेको छ ।


Image

विनोद घिमिरे

घिमिरे कान्तिपुर टेलिभिजनका धनकुटा संवाददाता हुन् ।