आँपले फेरिँदै मधेशका किसानको जीवन

असार १९, २०८३ |अमरकान्त ठाकुर
आँपले फेरिँदै मधेशका किसानको जीवन

धनुषा । मधेश प्रदेशमा सबैभन्दा बढी उत्पादन हुने फल हो आँप । 

मधेशका आठै जिल्लामा व्यावसायिक रूपमा आँप खेती हुँदै आएको छ । जसबाट किसानहरुले राम्रो आम्दानी समेत गर्दै आएका छन् । उत्पादित आापको प्रवर्द्धन, बजारीकरण र पर्यटन क्षेत्रको रूपमा विकास गर्न संघ र प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन पनि गरेका छन् ।

धनुषाको बटेश्वर गाउँपालिका चित्रपुरका ६० वर्षीय राम खेलावन महतो अहिले आँप बगैँचामा व्यस्त हुनुहुन्छ । दुई बिघामा लगाएको आँप बेचेर उहाँले यो सिजनमा साढे दुई लाख रुपैयाँ आम्दानी गर्नुभयो । चित्रपुरकै अमरनाथ महतोले व्यावसायिक रूपमा आँप खेती गर्नु भएको छ । 

उहाँले पनि यस वर्ष आँपबाट १० लाख रुपैयाँ आम्दानी गर्नुभयो । बटेश्वर क्षेत्रमा ६ सय किसानले ५ सय बिघामा लगाएको आँप खेतीबाट ५ करोडभन्दा धेरै आम्दानी गरेका छन् । देशमा सबैभन्दा बढी आँप उत्पादन हुने मधेश प्रदेशलाई आँपको राजधानी पनि भनिन्छ । 

फलफूलको राजा आँपको यहाँ प्रचूर खेती हुन्छ । यस वर्ष दक्षिणी क्षेत्रमा नफले पनि राजमार्ग क्षेत्रमा गतवर्षको तुलनामा यस वर्ष आँप धेरै फलेको छ । धनुषा, महोत्तरी, सिरहा, सप्तरीलगायतका जिल्लाको आँप देशभरि नै बिक्री हुने गरेको छ । जनकपुर फलफूल व्यावसायी समितिअन्तर्गत हाल दैनिक ३० लाख रुपैयाँसम्मको आँपको कारोबार हुन्छ ।

बमोई, कलकतिया, मालदह, आम्रपाली, कृष्णभोग, जर्दालगायत विभिन्न जातका आँप र यसबाट उत्पादित अचार, अमोट, आमिल, जुसलगायतका परिकार बनाउन सकिन्छ । जेठ असार आँप पाक्ने मुख्य सिजन रहे पनि यसको भण्डारण र प्रशोधन गरेर लाभ लिन सकिने दीर्घकालीन उपायबारे संघीय र प्रदेश सरकारले खासै चासो नदिएको आरोप लागि रहेका बेला अगामी आर्थिक वर्षका लागि दुवै तहका सरकारले ८ करोड रुपैयाँ बजेट विनियोजन गरेका छन् ।

मधेश प्रदेश कृषि विकास निर्देशनालयको तथ्याङ्कअनुसार देशभर ४२ हजार ७ सय ७३ हेक्टरमा हुने खेतीमध्ये मधेश प्रदेशमा मात्रै ३२ हजार ५ सय ७४ हेक्टरमा आँप लगाइन्छ । यस वर्ष सबैभन्दा बढी सप्तरीमा ७५ हजार ५ सय र सबैभन्दा कम पर्सामा ५ हजार ९ सय ६३ मेट्रिक टन आँप उत्पादन भएको छ । 

कुल उत्पादनको ७७ प्रतिशत आँप मधेशमा फल्ने गर्छ ।


Image

अमरकान्त ठाकुर

ठाकुर कान्तिपुर टेलिभिजनका धनुषा संवाददाता हुन् ।