सेलायो सेयर बजार, लगानीकर्ता किन भएनन् ढुक्क ?

असार १९, २०८३ |सुदिल पोखरेल
सेलायो सेयर बजार, लगानीकर्ता किन भएनन् ढुक्क ?

काठमाडौं । सम्पत्ति शुद्धीकरणलगायतका अन्य मुद्दामा केही ठूला व्यवसायी पक्राउ तथा धरपकडले त्रसित बनाएको सेयर बजारमा अहिले पनि आशा पलाउन सकेको छैन । 

अझ बजेटले सेयरमा लाग्दै आएको पुँजीगत लाभकर बढेकाले पनि त्यसको असर बजारमा परेको हो । त्यसैगरी असार मसान्तमा बैंकको ब्याज तथा किस्ता तिर्न सेयर बेच्नेहरु बढ्दा जेठ १५ यता मात्रै सेयरबजार १ सय २९ अंकले घटेको छ । जसले एक महिनामा लगानीकर्ताले पनि १ खर्ब ८७ अर्बको सम्पत्ति गुमाएका छन् ।

जेठ १५ मा संघीय सरकारले बजेट ल्याउने बेलामा २७ सय ८२ अंकमा रहेको सेयरबजार परिसूचक शुक्रबारसम्म आउँदा १ सय २९ अंकले घटेर २६ सय ५३ अंक कायम भएको छ । यसरी नेप्सेमा एक सय २९ अंकको गिरावट आउँदा समग्र लगानीकर्ताले भने एक महिनामा एक खर्ब ८७ अर्बले घटेको छ । 

सेयर बजारमा लाग्ने पुँजीगत लाभकर नै अन्तिम कर कायम गरिदिनुपर्ने वर्षाैदेखि सेयर लगानीकर्ताले माग राखेका थिए । जुन यो बजेटले पूरा पनि गरिदियो । तर, पनि लगानीकर्तामा उत्साह नहुँदा बजारमा किन्नेभन्दा बढी बेच्ने छन् । असार मसान्त आउन लागेकाले बैंकबाट ऋण लिएकाले ब्याज तथा किस्ता तिर्न सेयर बेचेकाले पनि केही घटेको लगानीकर्ता बताउँछन् ।

मुख्यत: पछिल्लो समय व्यवसायीहरुमाथि भएको धरपकडले ठूला सेयर लगानीकर्ता डराएका छन् । उनीहरुले लगानी नगरी बस्दा कारोबार कम भएपछि त्यसले साना लगानीकर्तालाई पनि निराश बनाएको छ । यसबाहेक अहिलेको बजेटले पुँजीगत लाभकर वृद्धि गर्दा पनि त्यसको असर बजारमा परेको विज्ञको भनाइ छ ।

हाल बैंकको ब्याज न्यून बिन्दुमा आएको छ । चार वर्षअघि १६ प्रतिशतसम्म ब्याज तिरेका सेयर लगानीकर्ताले अहिले सात प्रतिशत ब्याजदरमा सेयरकर्जा पाउँदा पनि लगानी बढाएका छैनन् । बहुमतसहितको स्थिर सरकार र बजेटपछि अब लगानी बढाउन के चाहन्छन् त लगानीकर्ता ?

पछिल्लो समय निजी क्षेत्र त्रसित अवस्थामा छ । अब बजारमा माग बढ्छ र आर्थिक शिथिलता हट्छ भन्ने पनि निश्चित नरहेकाले बजार बढ्न सकेको छैन ।


Image

सुदिल पोखरेल

पोखरेल कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।