दाहाल कांग्रेसतिर ढल्किँदा एमाले शक्तिविहीन (भिडियो)

चैत्र ३, २०७९ |दीपक आचार्य
दाहाल कांग्रेसतिर ढल्किँदा एमाले शक्तिविहीन (भिडियो)

काठमाडौं । नेपाली कांग्रेस नेतृत्वको गठबन्धन भत्काएर पुस १० गते नयाँ समीकरण बनाउन सफल एमाले अहिले पुनः शक्तिविहीन बन्न थालेको छ । निकै कसरत गरेर बनाएको गठबन्धन भत्किएपछि एमालेले संघीय सरकार त गुमाएको छ नै राष्ट्रपति र उपराष्ट्रपति पनि आफ्नो हातबाट फुत्काएको छ । अझै एमाले ७ मध्ये ६ वटा प्रदेश सरकारमा छ । तीन वटामा त उसैको नेतृत्व छ । संघमा प्रधानमन्त्रीले विश्वासको मत पाएलगत्तै एमालेलाई सबै प्रदेशबाट हटाउने गठबन्धनको तयारी छ । संघदेखि प्रदेशसम्म नै शक्तिबाट बाहिरिदै गर्दा पनि एमालेभित्र कसैले प्रश्न उठाउन सकेको छैन ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाएर राष्ट्रपति, सभामुख तथा बहुमत प्रदेश सरकारको नेतृत्व लिने गरि एमाले अध्यक्ष केपी शर्मा ओलीले समीकरण बनाएका थिए । तर सरकार गठनदेखि नै ओलीले प्रधानमन्त्री दाहाललाई भन्दा आफूलाई सर्वेसर्वा ठान्न थाले । ओलीको क्रियाकलापले झस्किएका दाहालले पुनः कांग्रेससहितको नयाँ गठबन्धन बनाए । त्यहीअनुसार राष्ट्रपतिमा कांग्रेस र उपराष्ट्रपतिमा जसपाका उम्मेदवार निर्वाचित भए । दुवै पदमा एमाले पराजित भयो । अब संघमा बनेको गठबन्धनको प्रभाव प्रदेशमा पर्ने निश्चित छ । सुरुमा ४ प्रदेशको नेतृत्व गरेको एमालेले सुदूरपश्चिम प्रदेश सरकार त गुमाइसकेको छ । एमालेका लागि सबैभन्दा सहज मानिएको कोशी प्रदेशमा पनि गठबन्धन दल मिलेर विस्थापित गर्ने तयारी गरेका छन् ।

बागमती प्रदेश सरकारको नेतृत्व माओवादी केन्द्रले गरेको भए पनि अहिलेसम्म एमाले बाहिरिएको छैन । मुख्यमन्त्रीले यही ८ गते विश्वासको मत लिने तयारी गरेका छन् । यही बेला एमाले सरकारलाई दिएको समर्थन फिर्ता लिने मनस्थितिमा पुगेको छ । कर्णालीमा भने के गर्ने भन्ने एमालेले कुनै निर्णय गरेको छैन ।

गण्डकी र लुम्बिनीमा पनि एमालेबाहेककै गठबन्धनको बहुमत पुग्ने अवस्था छ । माओवादीले नेतृत्व गरेका प्रदेशमा एमालेलाई अलग्याउने तयारी गठबन्धन दलको छ ।

संघदेखि प्रदेशसम्मै हिस्सा खोसिने र सत्तामा पार्टीको भूमिका खुम्चिदै जाँदा पनि एमालेभित्र कुनै वहस भएको देखिँदैन ।

अघिल्लो पटक संघदेखि अधिकांश प्रदेशमा पहिलो दल भए पनि एमाले सत्ताबाहिरै बस्नु परेको थियो । अहिले पनि नेतृत्वले समन्वयकारी भूमिका खेल्न नसकेकै कारण एमालेले त्यही नियति भोग्दै छ । तर पनि नेतृत्वप्रति प्रश्न उठाउन कुनै नेताले हिम्मत गरेको देखिँदैन ।


Image

दीपक आचार्य

आचार्य कान्तिपुर टेलिभिजनमा राजनीतिक ब्युरोमा कार्यरत छन् ।