
सप्तरी । सप्तकोशी नदीको बाढीले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका चार वडाका पाँचसय चार घर र तिलाठी कोइलाडी गाउँपालिकाका दुई वडाका १९ घर गरी कुल पाँचसय २३ घर पछिल्लो तीन दिनदेखि डुबानमा छन्।
तिलाठी कोइलाडी गाउँपालिकाले बाढीपीडितलाई चामल, दाल, तेल, त्रिपाल, झुल र कम्बललगायत सामग्री उपलब्ध गराएको छ भने हनुमाननगरले दैनिक बिहान र बेलुका खानाको व्यवस्था गरेको छ। तर, कोशी नदी किनारका बासिन्दाका लागि बर्षेनि दोहोरिने डुबानको समस्या कहिले हट्छ भन्ने चिन्ताले अवस्था कहालीलाग्दो बनेको छ।
४५ वर्षीया रामकुमारी सदाका लागि अहिलेको बाढी नौलो होइन । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–७ स्थित सप्तकोशी नदीको पश्चिमी तटबन्ध छेउमा बस्दै आएकी सदा बर्षेनि बाढीको समस्याबाट पीडित हुँदै आएकी छन् ।
सदा जस्तै उक्त मुसहर बस्तीका करिब चारसय सुकुम्बासी परिवारको पीडा पनि उस्तै छ । सरकारले आफूहरूलाई जग्गा उपलब्ध गराए बर्षेनिको बाढीबाट छुटकारा पाउने उनीहरूको आशा छ ।
हनुमाननगर कंकालिनी नगरपालिका–५, ७ र १२ को कोशी तटीय क्षेत्रमा झन्डै चारसय सुकुम्बासी परिवार तीन पुस्तादेखि बसोवास गर्छन् । यस्तै वडा नम्बर १३ को गोबरगाढाका करिब एकसय परिवार पनि बर्षेनि बाढीको समस्यामा पर्ने गरेका छन् ।
नगरपालिकाले मात्रै जग्गा उपलब्ध गराउन नसक्ने भएकाले तत्काल बाढीपीडितलाई दैनिक दुई छाकको खाना र थप राहत सामग्री उपलब्ध गराउने काम भइरहेको स्थानीय सरकारको भनाइ छ । उता सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४ र ५ का १९ बाढीपीडित परिवारलाई स्थानीय सरकारले २५ केजी चामल, २ केजी दाल, १ केजी नुन, १ लिटर तेल, भुजियालगायत खाद्य सामग्री तथा त्रिपाल, झुल र कम्बल वितरण गरेको छ ।
तत्काल पाएको राहतले छाक टार्न सहज भएको बाढीपीडितको भनाइ छ । यता जिल्ला प्रशासन कार्यालय सप्तरीले पनि बाढीपीडितका लागि दुवै पालिकालाई एकमुष्ट राहत सामग्री उपलब्ध गराएको छ । कोशी नदी किनारमा तिलाठी कोइलाडी भन्दा बढी क्षति हनुमाननगर कंकालिनी नगरपालिकामा गरिरहेको छ ।
राहतले तत्कालको भोक टार्न सक्छ, तर बर्षेनि डुबानमा पर्ने सुकुम्बासी परिवारको समस्या समाधान गर्न सक्दैन । त्यसैले, सुरक्षित र अग्लो स्थानमा संघीय सरकारले जग्गाको व्यवस्था नगरेसम्म कोशी तटीय क्षेत्रका यी मुसहर परिवार हरेक वर्ष बाढीको त्रासमा बाँच्न बाध्य हुनेछन् ।