
काठमाडौं । मौसम विभागले असोज ८ देखि ११ गतेसम्म देशभर भारी वर्षाको प्रक्षेपण गरेसँगै सबै तहका सरकारी संयन्त्र पूर्वतयारी र क्षति न्यूनीकरणका लागि सक्रिय भए ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र मौसम विभागले एसएमएस तथा सामाजिक सन्जालमार्फत सतर्क रहन सचेत गराए भने प्रधानमन्त्रीले समेत सावधान रहन फेसबुकबाट अपिल गरे ।
विभिन्न तहबाट समयमै सूचनाको प्रवाह हुँदा तुलनात्मक रुपमा क्षति कम भएको सरकारी दाबी छ । नेपाल टेलिकमले गत बिहीबार सबै प्रयोगकर्तालाई एसएमएस पठायो- यही असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना रहेको जानकारी प्राप्त हुन आएकाले विशेष सतर्कता अपनाइ सुरक्षित रहनुहुन अनुरोध गरिन्छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पूर्वचेतावनीका यस्ता सूचना सम्भावित बाढीप्रभावित स्थानका ८ लाख १४ हजार नागरिकलाई पठाइए । यसबाहेक पर्वतारोहण तथा पदयात्रामा गएका पर्यटकलाई लक्षित गरी अंग्रेजी भाषामा समेत सूचना जारी गरियो ।
उक्त अवधिमा देशभर ९ हजार पर्यटक तथा पदयात्री यात्रारत थिए । यसैगरी, मोबाइलमा कल ब्याक रिंग टोनदेखि प्रत्यक्ष, अप्रत्यक्ष रुपमा सतर्क रहन सन्देश दिने खालका सूचना जारी गरिए । जसका कारण प्रशासनिक तथा नागरिक तहबाट पूर्वसावधानी अपनाउँदा तुलनात्मक रुपमा क्षति कम भएको प्राधिकरणको दाबी छ ।
यस वर्ष मनसुन सुरु भएदेखि अर्थात् असार ५ देखि सोमबारसम्म बाढी, पहिरो, चट्याङ्ग र भारी वर्षाका कारण १ सय १७ जनाको मृत्यु भएको छ, जसमा असोज ८ देखि १२ सम्मको अवधिमा २७ जनाको मृत्यु भएको छ । मनसुनमा भएको मानवीय क्षतिको यो तथ्याङ्क विगतको तुलनामा कम रहेको प्राधिकरणका अधिकारीहरु बताउँछन् ।
२०८२ को मनसुनमा १ सय ४० जनाले ज्यान गुमाएका थिए । जल तथा मौसम विज्ञान विभागले पनि दैनिक बुलेटिनबाहेक असोज ५ यता चारवटा विशेष बुलेटिन जारी गर्दै सतर्कताका लागि अपिल गर्यो । यसबाहेक मौसमसम्बन्धी जानकारीमुलक भिडियो, फोटो, सेटेलाइट तस्बिर र गरेर फेसबुक, एक्सलगायतका सामाजिक सञ्जालमा २० वटासम्म पोष्ट गरेको विभागको भनाइ छ ।
त्यसबाहेक सर्वसाधारणका लागि जानकारी दिने भाइबर ग्रुपमा समेत लगातार सूचना जारी भएको थियो । विभागको टोल फ्रि नम्बर ११५५ मा मात्र दैनिक सात सयदेखि ८ सयको हाराहारीमा फोन आएको विभागको भनाइ छ । विपद् प्राधिकरण तथा मौसम विभागले पठाएका एसएमएस तथा सामाजिक सञ्जालमार्फत जारी गरेका सचेतनामूलक पोष्टपछि स्थानीय तह र सम्भावित प्रभावित क्षेत्रका जिल्ला प्रशासन पनि सक्रिय भए ।
रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइयो । नदी किनार र पहिरोको जोखिम रहेका बस्तीमा सतर्कता अपनाइयो र सुरक्षा निकायले जोखिम क्षेत्रका बस्तीमा माइकिङ गरे । प्रधानमन्त्री वालेन्द्र शाहले समेत फेसबुक पोस्टमार्फत पूर्वतयारीका लागि सबै निकायलाई निर्देशन दिँदै सावधान र सुरक्षित रहन अपिल गरेका थिए ।
मन्त्रीहरुले समेत यस्तै खालका पोस्टमार्फत सतर्क रहन अपिल गरे । सरकारी संयन्त्रबाहेक मौसमविद्हरु तथा यस क्षेत्रमा काम गर्ने विभिन्न व्यक्तिले समेत सूचना सम्प्रेषण गरिरहे जसले नागरिकलाई सचेत गराउन मद्धत गर्यो । ठूलो वर्षा गराउने मौसमी प्रणाली बाहिरिइसकेकाले अब तत्कालका लागि ठूलो वर्षाको सम्भावना टरेको विभागले जनाएको छ ।