एमालेमा नेतृत्व परिवर्तनकाे विषयलाई महाधिवेशनबाटै टुंगो लगाउनुपर्ने नेताहरूकाे धारणा

आश्विन २९, २०८२ |कान्तिपुर टीभी संवाददाता
एमालेमा नेतृत्व परिवर्तनकाे विषयलाई महाधिवेशनबाटै टुंगो लगाउनुपर्ने नेताहरूकाे धारणा

काठमाडौं । नेकपा एमालेमा नेतृत्व परिवर्तनको दबाब बढ्दै गए पनि यो विषयलाई महाधिवेशनबाटै टुंगो लगाउनुपर्नेमा धारणा नेताहरूले राखेका छन् ।

ललितपुरमा बुधबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा धारणा राखेका अधिकांश सदस्यहरुले हालको अप्ठेरो परिस्थितिमा नेतृत्वको विवाद आगामी महाधिवेशनबाटै टुंगो लगाउनुपर्ने धारणा राखेका हुन् । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले ११ औं महाधिवेशन पोखरामा मंसिर २७ देखि २९ गतेसम्म गर्ने प्रस्ताव गरेसँगै सदस्यहरुले तत्काल नेतृत्व परिवर्तनको विवाद अघि नबढाउने जनाएका हुन् । 

केही नेताहरुले भने जेन-जी आन्दोलनसँगै बदलिएको राजनीतिक परिस्थितिमा नेतृत्वको पुस्तान्तरण हुनुपर्ने धारणा राखेका छन् । एमालेका केही नेताहरुले भने सुशीला कार्की नेतृत्वको सरकार असंवैधानिक ढंगबाट गठन भएको भन्दै पहिले त्यसको न्याय निरुपण हुनुपर्ने माग गरेका छन् ।

एमालेको पहिलो दिनको केन्द्रीय कमिटी बैठकमा ५० जना नेताहरुले अध्यक्ष ओलीले पेस गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि धारणा राखेका थिए । यसअघि एकीकृत समाजवादीको कडा आलोचना गर्दै आउनुभएको अध्यक्ष ओलीले आज भने एमालेबाट अलग भएका समाजवादी पार्टीका नेता–कार्यकर्ताहरुलाई यसअघिको तिक्तता भुलेर पार्टीमा फर्कन आग्रह गर्नुभएको छ । एमाले केन्द्रीय कमिटीको बैठक ३१ असोजसम्म चल्नेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.