काठमाडौं । इजरायल र हमासले एक अर्कालाई युद्धविराम उल्लंघन गरेको आरोप लगाएका छन् ।
इजरायलले सम्झौताअनुसार मृतक बन्धकको शव फिर्ता लिन आनाकानी गरेको आरोप लगाएको छ भने हमासले इजरायली सेनाले गाजामा कारबाही जारी राखेको आरोप लगाएको छ ।
हमासले मृतक २८ बन्धकको शव फिर्ता गर्नुपर्नेमा १० वटा शवमात्र हस्तान्तरण गरेको र बाँकी फिर्ताका लागि ढिला गरेर युद्धविराम सम्झौता उल्लंघन गरेको आरोप इजरायलले लगाएको छ । हमासले भने थप शव हस्तान्तरण गर्न युद्धका विशाल भग्नावेशष उत्खनन गनुपर्ने भन्दै थप समय मागेको छ । बन्धक बनाइएकाहरुको शव फिर्ता गर्ने विवादले युद्धविराम सम्झौता उल्लंघन हुने सम्भावना बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
इजरायलले भने आज ३० बन्दीको शव हस्तान्तरण गरेको छ।
हमासका एक वरिष्ठ अधिकारीले इजरायली गोलाबारीमा शुक्रबारयता २४ जनाको मृत्यु भएको उल्लेख गर्दै यस्ता उल्लंघनको सूची मध्यस्थकर्तालाई हस्तान्तरण गरिएको जनाएका छन् ।
यसैगरी, राष्ट्रसंघीय खाद्य कार्यक्रमले गाजामा खाद्यान्न सहयोग पुर्याउन थालेको छ । राहत सामग्री बोकेका ट्रक दैनिक ६ सय वटा गाजा प्रवेश गर्ने सहमति भए पनि हाल सीमितलाई मात्र प्रवेश गर्न दिइएको छ । यस्तै, इजरायलले प्यालेस्टिनीलाई आवतजावतका लागि अनुमति दिन गाजाको रफाह नाका खोल्ने तयारी गरिरहेको छ ।
यसैबीच, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजा युद्धका सबै लक्ष्य हासिल गर्ने बताउनुभएको छ । हमास आक्रमणको दुई वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रममा उहाँले इजरायललाई धम्की दिनेहरुले ठूलो मूल्य चुकाउने र युद्ध अझै समाप्त नभएको समेत बताउनुभएको छ ।