
काठमाडौं । कर्णाली याक्स स्पोर्टस प्रालि र नेबिको लिमिटेडबीच सहप्रायोजनसम्बन्धी सम्झौता भएको छ ।
काठमाडौंमा आज आयोजित कार्यक्रममा कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरे र नेबिकोका प्रतिनिधि अशोक पोखरेलबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौता नेपाल प्रिमियर लिग -एनपीएलको दोस्रो संस्करणका लागि भएको हो ।
कर्णालीका निर्देशक घिमिरेले देशको विषम परिस्थितिमा क्रिकेटले नेपालीलाई जोड्ने काम गरिरहेको बताउँदै एनपीएल हुन लागेकोमा खुसी व्यक्त गरे ।
नेबिकोका प्रमुख कार्यकारी अधिकृत होम न्यौपानेले नेपाली क्रिकेटको भविष्य उज्वल रहेको र कर्णालीमार्फत् एनपीएलसँग जोडिन पाउँदा हर्षित भएको प्रतिक्रिया दिए ।
एनपीएलको पहिलो संस्करणमा कर्णाली याक्सले दोस्रो क्वालिफायरसम्मको यात्रा तय गरेको थियो । दोस्रो संस्करणमा पनि कर्णालीले ज्ञानेन्द्र मल्ललाई नै प्रशिक्षकमा निरन्तरता दिएको छ । टोलीको कन्सल्ट्यान्ट प्रशिक्षकमा राजु बस्नेत छन् ।
यस्तै, कर्णालीले मार्की सोमपाल कामीसँगै गुल्सन झा, नन्दन यादव, विपिनप्रसाद शर्मा, दीपेन्द्र रावत, अर्जुन घर्ती र युनिससिंह ठकुरीलाई रिटेन गरेको थियो । एनपीएलको दोस्रो संस्करण आगामी मंसिर १ देखि २७ सम्म हुँदैछ ।