
काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलको फ्रेन्चाइज टोली लुम्बिनी लायन्सले दोस्रो संस्करणको प्रतियोगिताका लागि अस्ट्रेलियन ओपनर डार्सी सर्टलाई अनुबन्धित गरेको छ ।
लुम्बिनीले सामाजिक सञ्जालमार्फत् सर्टलाई टिममा सामेल गरेको जानकारी गराएको हो। ३५ वर्षीय अस्ट्रेलियन ओपनर सर्टले अस्ट्रेलियाका लागि २३ टी-२० आईमा ४ अर्धशतकसहित ६ सय ४२ रन बनाएका छन् । टी-२० क्रिकेटमा सर्टले १ सय ८० खेलमा ५ हजार ४ सय १ रन प्रहार गरेका छन् । उनको नाममा टी-२० मा २ शतक र ३९ अर्धशतक सामेल छन् ।
२०१८ मा अस्ट्रेलियाका लागि टी-२० आई डेब्यू गरेका सर्टले २०२० डिसेम्बरपछि अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छैनन् । तर उनी विश्वभरका फ्रेन्चाइज लिगमा भने खेल्दै आएका छन् । उनीसँग आईपीएल, बिग ब्यास र क्यारेवियन प्रिमियर लिगसहित विश्वभरका अधिकांश व्यावसायिक लिग खेलेको अनुभव छ । एनपीएलको पहिलो संस्करण खास प्रदर्शन गर्न नसकेको लुम्बिनी लिगको पुछारमा थियो । टोलीले यस सिजनका लागि कप्तान रोहित पौडेलसँगै सन्दीप जोरा, विवेक यादव, तिलकराज भण्डारी, अभिशेष गौतम र दिनेश अधिकारी रिटेन गरेको थियो भने अक्सन मार्फत स्वदेशी खेलाडीको कोटा समेत पूरा गरिसकेको छ ।