एमाले बैठक : ओलीको प्रतिवेदनमा खुलेर धारणा राखे सदस्यले

आश्विन ३०, २०८२ |दशरथ राई
एमाले बैठक : ओलीको प्रतिवेदनमा खुलेर धारणा राखे सदस्यले

काठमाडौं । महाधिवेशनको मिति नै प्रस्ताव भएपछि नेकपा एमालेको जारी केन्द्रीय कमिटीको बैठकमा सदस्यहरुले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि खुलेर धारणा राखेका छन् । जेन-जी आन्दोलनपछि परिवर्तित राजनीतिक घटना, नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको विषय पनि सदस्यहरुले जोडतोडका साथ उठाएका छन् ।

११औं महाधिवेशनको मिति नै घोषणा भइसकेको अवस्थामा बसेको नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकमा सदस्यहरु आज खुलेका छन् । जेन जी आन्दोलनमा दमन गरेको सरकारको नेतृत्व गरेका अध्यक्ष केपी ओलीलाई राजीनामा दिन दबाब दिने सदस्यदेखि परिवर्तित अवस्थामा यहि नेतृत्वलाई निरन्तरता दिनुपर्ने पक्षमा पनि सदस्यले बिहिबारको बैठकमा धारणा राखेका छन्।

जेन-जी आन्दोलनको रापतापसँगै नेतृत्वमा प्रश्न उठेपछि एमालेले समयअगावै मंसिरको अन्तिम साता ११औँ महाधिवेशन गर्दैछ । अध्यक्ष ओलीले महाधिवेशनको मितिसमेत प्रस्ताव गरिसकेको अवस्थामा नेतृत्वको विषय अब महाधिवेशन हलबाटै राफसाफ गर्नेुपर्ने संस्थापन पक्षको जोड छ । विपक्षीहरुले भने नेतृत्वले गम्भीर समिक्षा गर्नुपर्ने र आत्मलोचना गर्नुपर्ने तर्क अघि सारेका छन् ।

३ सय ५६ जना सदस्य रहेको एमाले केन्द्रीय कमिटीको बुधवार सुरु भएको बैठकमा आधाजसो नेताहरुले आफ्ना धारणा राखिसकेका छन् । 


Image

दशरथ राई

राई कान्तिपुर टेलिभिजनको समाचार विभागमा कार्यरत छन् ।