आईसीसी पुरुष टी-२० विश्वकपमा प्रतिस्पर्धा गर्ने सबै २० टोलीको टुंगो लाग्यो

आश्विन ३०, २०८२ |कान्तिपुर टीभी संवाददाता
आईसीसी पुरुष टी-२० विश्वकपमा प्रतिस्पर्धा गर्ने सबै २० टोलीको टुंगो लाग्यो

काठमाडौं । अर्को वर्ष भारत र श्रीलंकामा हुने आईसीसी पुरुष टी-२० विश्वकपमा प्रतिस्पर्धा गर्ने सबै २० टोलीको टुंगो लागेको छ ।

एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत सुपर सिक्सको खेलमा यूएईले जापानलाई ८ विकेटले पराजित गरेसँगै विश्वकपमा सहभागी हुने सबै टोलीको टुंगो लागेको हो । यसअघि यस क्षेत्रबाट नेपाल र ओमानले विश्वकमा आफ्नो स्थान सुरक्षित गरिसकेका थिए ।

अल अमिरात क्रिकेट मैदानमा यूएईले टस जितेर फिल्डिङ रोजेपछि सुरुवामा ब्याटिङ गरेको जापानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १६ रनको सामान्य योगफल तयार पारेको थियो । जवाफमा यूएईले ४७ बल बाँकी रहँदै २ विकेट गुमाए जित हात पार्‍यो । यूएईका लागि अलिसान सराफुले ४६ कप्तान महोम्मद वासीमले ४२ र राहुल चोप्डाले १४ रनको योगदान दिए ।

एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटमा सहभागी ९ मध्य नेपाल, ओमान र यूएईले विश्वकपको यात्रा तय गरेका हुान् ।

यसअघि भारत र श्रीलंकाले आयोजकको रुपमा विश्वकपमा स्थान बनाएका थिए भने अफगानिस्तान, अष्ट्रेलिया, बंगलादेश, इङ्ग्ल्यान्ड, दक्षिण अफ्रिका, अमेरिका र वेस्ट इन्डिजले २०२४ टी-२० विश्वकपको शीर्ष ७ टोलीको रुपमा अघि बढेका थिए । आयरल्यान्ड, न्यूजिल्यान्ड र पाकिस्तान वरियताका आधारमा विश्वकपमा पुगेका हुन् । यस्तै अमेरिका क्षेत्रीय छनोटबाट क्यानडा, युरोप क्षेत्रीय छनोटबाट इटाली र नेदरल्याण्ड्स तथा आफ्रिका क्षेत्रीय छनोटबाट नामिबिया र जिम्बावेले विश्वकपको यात्रा तय गरिसकेका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.