
काठमाडौं । नेपाली कांग्रेसका नेताहरुले आगामी मंसिरमै महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउन माग गरेका छन् । जारी केन्द्रीय समिति बैठकमा सदस्यहरुले विशेष महाधिवेशनको माग गर्दै गरिएको हस्ताक्षर संकलनको पनि विरोध जनाएका छन् ।
सभापतिको कुर्सी खाली राखेर कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा आज बसेको बैठकमा नेता शेखर कोइरालाले कांग्रेसलाई नयाँ दिशा र नयाँ संभावनाको पार्टी बनाउन २०८२ मंसिरमै १५ औं महाधिवेशन गर्नुपर्ने धारणा राख्नुभएको हो । त्यस्तै कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनका लागि प्रतिनिधिहरूको हस्ताक्षर प्राप्त भएको जानकारी गराउँदै नियमित महाधिवशेनको वातावरण बनेको अवस्थामा विशेष महाअधिवेशन आवश्यक नहुने बताउनु भएको हो।
आज बोलेका केन्द्रीय सदस्यहरुले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर संकलन गरिएकोप्रति विरोध जनाएका थिए । केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले जेन-जीका कुरा गर्ने तर पुराना महाधिबेशन प्रतिनिधिबाट चुनाव गराएर नयाँलाई रोक्न खोज्नु नसुहाउने कुरा भएको तर्क गर्नुभएको थियो । अर्का सदस्य देेवेन्द्र कँडेलले नियमित महाधिवेशन गर्नुपर्ने बताउनु भएको थियो भने शिव हुमागाइँले मुस्किलले बाँचेका सभापति हटाउन विशेष महाधिवेशने आवश्यक नरहेको भन्दै महामन्त्रीहरु चर्चामा आउन यस्तो काम गरेको आरोप लगाउनुभयो । राजीव कोइराला र गुरु बरालले प्रतिनिधि सभा विघटन संबैधानिक नभएको र अहिलेको अवस्थामा चुनाव हुन नसक्ने धारणा राखेका थिए । आज सात जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका छन् भने बैठक शुक्रबार विहान ११ बजे पुनः बस्नेछ ।