परराष्ट्रमन्त्री डा. पौड्याल जेनेभा जाँदै

फाल्गुन १४, २०७९ |कान्तिपुर टीभी संवाददाता
परराष्ट्रमन्त्री डा. पौड्याल जेनेभा जाँदै

काठमाडौं । परराष्ट्र मन्त्री डा. विमला राई पौड्याल मानवाधिकार परिषद्को ५२औँ सत्रमा भाग लिन आज स्वीट्जरल्याण्डको जेनेभा जाने भएकी छन्। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी त्यसतर्फ जान लागेकी हुन् ।

नेपाल परिषद्को सदस्य राष्ट्र हो । उक्त अवसरमा नेपालले गरेका प्रतिबद्धता र त्यसमा गरेका कामबारे समेत अवगत गराउने परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्री डा. पौड्यालले नेपालको उपस्थिति र यस क्षेत्रमा नेपालले गरेका प्रगति र कामका बारेमा विश्व मञ्चमा जानकारी गराउनका लागि पनि यसपटकको सहभागिता महत्वपूर्ण हुने जनाइन् ।

नेपालले सङ्क्रमणकालीन न्यायसँग जोडिएका विषय र गरेका कामका बारेमा अन्तर्राष्ट्रिय मञ्चमा सुनाउनेछ । उक्त अवसरमा विभिन्न द्विपक्षीय भेटवार्ता हुने, परिषद्का उच्चायुक्त, आईएलओका महानिर्देशकलगायतसँगसमेत भेट हुने मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिइन् ।

मन्त्री डा. पौड्याल नेतृत्वको प्रतिनिधिमण्डल परिषद्को सम्मेलनमा सहभागीपश्चात् यही फागुन १९ गते जेनेभाबाट कतारको दोहा प्रस्थान गर्ने कार्यक्रम छ । उनी दोहामा अतिकम विकसित मुलुकहरु (एलडीसी)को पाँचौँ सम्मेलनमा सहभागी हुनेछिन् । उक्त सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको प्रतिनिधिमण्डलले सहभागिता जनाउनेछ । त्यसका लागि प्रधानमन्त्री दाहाल आगामी शुक्रबार कतार प्रस्थान गर्नेछन् ।

परराष्ट्रमन्त्री डा. पौड्याल यही फागुन २३ गते स्वदेश फर्किनेछन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.