विवादको घेरामा लिङ्देन, कुरो एउटा काम अर्कै (भिडियो रिपोर्ट)

माघ १०, २०७९ |प्रकाश बम
विवादको घेरामा लिङ्देन, कुरो एउटा काम अर्कै (भिडियो रिपोर्ट)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको आरचण र कार्यशैलीबारे खरो टिप्पणी गर्ने नेतामा पर्छन् । भ्रष्टाचारबारे उनले दिएको अभिव्यक्ति त सामाजिक सन्जालमा छ्यापछ्याप्ती छ ।

भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउने र क्षमतावान् नेतालाई अवसर दिने बताउने उनै लिङ्देनका निर्णय भने एकपछि अर्को गर्दै विवादमा तानिएका छन् । सरकारमा सहभागिता र मन्त्री छनोटको निर्णयले त उनी कुरा एउटा र काम अर्कै गर्छन् भन्ने देखाएको छ। यसै सन्दर्भमा विक्रम पाण्डेलाई मन्त्री बनाउने निर्णयका कारण अध्यक्ष लिङदेन आफ्नै पार्टीभित्र समेत विवादमा तानिएका छन् ।

भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानुसरह हो । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले हरेक कार्यक्रममा यो कुरा दोहोर्‍याइरहन्छन् । तर यिनै लिङ्देनले पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिमण्डलमा आफ्नै पार्टीबाट भ्रष्टाचारको आरोप लागेका विक्रम पाण्डेलाई सहरी विकासमन्त्री बनाए । भ्रष्टाचारविरुद्ध चर्का कुरा गर्ने तर व्यवहारमा नदेखाउने भन्दै लिङ्देनको अहिले पार्टीभित्रै र बाहिर पनि आलोचना भइरहेको छ । यतिमात्रै होइन, सरकारमा जाने वा नजाने भन्नेमा राप्रपा ठूलो विवाद थियो । जब सरकारमा सहभागी हुने निर्णय भयो, मन्त्री छान्ने जिम्मा अध्यक्ष लिङ्देनले नै लिए ।

विक्रम पाण्डेलाई मन्त्री बनाउँदा पार्टीलाई ठूलो क्षति : धवलशमशेर

अध्यक्ष लिङ्देनले उपप्रधान‍सहित ऊर्जामन्त्री लिँदा विक्रम पाण्डेलाई सहरी विकास तथा ध्रुवबहादुर प्रधानलाई कानुन र दीपकबहादुर सिंहलाई उर्जा राज्यमन्त्री छाने । मन्त्री बन्न नपाएकामा असन्तुष्ट ज्ञानबहादुर शाहीलाई प्रमुख सचेतक बनाएर लिङ्देनले थामथुम पारे ।

पार्टी महाधिवेशनमा कमल थापालाई सघाएका पशुपतिशमशेर जबरालाई समानुपातिक सांसद बनाएर आफैंलाई साथ दिएका प्रकाशचन्द्र लोहनीलाई बाहिर राखेकामा पनि पार्टीमा धेरैले चित्त बुझाएका छैनन् । लिङ्देनलाई अध्यक्ष बनाउन निर्णायक भूमिका खेलेका महामन्त्री धवलशमशेर राणा पनि मन्त्रीको सूचीमा परेनन् ।

लिङ्देन पहिलोपटक मन्त्री भए पनि राप्रपा सरकारमा सहभागी भएको पहिलोपटक होइन । विगतमा सरकारमा सहभागिताको विषयलाई लिएर लिङ्देनले पटक-पटक प्रश्न उठाए । उनले पहिले उठाएका प्रश्न अहिले उनीतर्फै सोझिएका छन् । नेतृत्वको आलोचना गरेरै नेता बनेका लिङ्देनले आफैंमाथि सोझिएका प्रश्नको जवाफ कसरी देलान्, हेर्न बाँकी छ ।