विक्रम पाण्डेलाई मन्त्री बनाउँदा पार्टीलाई ठूलो क्षति : धवलशमशेर

माघ १०, २०७९
विक्रम पाण्डेलाई मन्त्री बनाउँदा पार्टीलाई ठूलो क्षति : धवलशमशेर

गत वर्ष राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा कमल थापासँग अन्तरसंघर्ष चर्कंदा तत्कालीन महामन्त्री राजेन्द्रप्रसाद लिङ्देनलाई अर्का महामन्त्री धवलशमशेर जबराले बलियो काँध थापे । धवल आफैं अध्यक्षमा उठ्ने धेरैको अनुमान थियो, तर उनले महामन्त्रीमै बसेर लिङ्देनलाई अध्यक्षमा उठाए र जिताए ।

मंसिर ४ को चुनावमा राप्रपा अध्यक्ष लिङ्देन झापा ३ बाट निर्वाचित हुँदा महामन्त्री जबरा बाँकेबाट निर्वाचित भए । तर, राप्रपाले सरकारमा जाने निर्णय लिँदा जबरा भने मन्त्रीको सूचीमा परेनन् । बरु, स्वार्थ बाझिने गरी कालिका कन्स्ट्रक्सनका ठेकदार विक्रम पाण्डेलाई सहरी विकासमन्त्री बनाइयो ।

अख्तियारमा मुद्दा खेपिरहेका विक्रम पाण्डेलाई मन्त्री बनाइएको बारे राप्रपा महामन्त्री जबरा भन्छन्, ‘उहाँमाथिको मुद्दामा पुनरावेदन हुने सम्भावना छ र मैले अध्यक्षज्यूलाई सचेत गराएकै हो कि उहाँलाई अर्को चरणमा अथवा अर्को मन्त्रालयमा लैजानुपर्छ भनेर भनेको । तर, विक्रमजीलाई केही बाध्यता छ भन्नुभयो अध्यक्षजीले ।’

उनी अगाडि थप्छन्, ‘मैले सचेत गराउँदा–गराउँदै उहाँले यो निर्णय लिनुभयो । यसले पार्टीलाई ठूलो क्षति पुगेको छ । यो दुःखद कुरा हो । यो विषय जनतामा नकारात्मक किसिमले आइरहेको छ । यसमा हामी सबै दुःखी छौं ।’

राप्रपा महामन्त्री धवलशमशेर जबरा गृहजिल्ला नेपालगन्ज आएका बेला कान्तिपुर टेलिभिजनका लागि जे पाण्डेले गरेको छोटो कुराकानीको अंश :

सरकारमा तपाईंको पार्टी राप्रपा पनि गयो, तर तपाईंलाई पाखा लगाइयो, यसको कारण के होला ?

कोही न कोही त पाखा लाग्नु नै थियो । यसमा अध्यक्षज्यूलाई हामीले जिम्मा दिएका थियौं । उहाँले आफूसँगै तीन जनालाई छान्नुभयो । यो चरणमा हामी योग्य ठहरिएनौं । ठीकै छ, पार्टीको काम, आफ्नो क्षेत्रको काम, जनताको काम गर्ने हो । गरिरहेको छु ।

तर, सरकारमा विक्रम पाण्डेलाई ल्याएको कुरामा त विरोध भइरहेको छ नि ? तपाईंले पार्टीभित्र यो निर्णयको विरोध गर्नुभएन ?

मैले किन विरोध गर्ने ? विक्रमजी पनि हामीजस्तै प्रत्यक्ष निर्वाचित हो । उत्कृष्ट व्यक्ति हुनुहुन्छ । हो– उहाँमाथिको मुद्दामा पुनरावेदन हुने सम्भावना छ र मैले अध्यक्षज्यूलाई सचेत गराएकै हो कि उहाँलाई अर्को चरणमा अथवा अर्को मन्त्रालयमा लैजानुपर्छ भनेर भनेको । तर, विक्रमजीलाई केही बाध्यता छ भन्नुभयो अध्यक्षजीले । यही कारणले अध्यक्षजीले विक्रमजीलाई त्यो मन्त्रालयमा लग्नुभयो । र त्यसको आलोचना भइरहेकै छ । हामीले, तपाईंले हेरिरहेका छौं । यो विषयमा मैले के भन्न सक्छु र ?

अहिलेको जनचाहना भ्रष्टाचाररहित सरकार होस्, सुशासन होस् भन्ने छ । यसरी आलोचित एवं अख्तियारमा मुद्दा खेपिरहेका व्यक्ति सरकारमा पुग्दा जनताको भावनामा ठेस पु¥याउँछ नि हैन ?

मैले अध्यक्षज्यूलाई यो विषयमा सचेत गराएकै हो । मैले सचेत गराउँदा गराउँदै उहाँले यो निर्णय लिनुभयो । यसले पार्टीलाई ठूलो क्षति पुगेको छ, हामी सबैलाई थाहा छ । हामी, उहाँलाई पनि र पार्टीलाई पनि, सबैलाई क्षति पुगेको छ । भइसकेको कुरालाई फिर्ता गर्न सकिँदैन, के गर्न सकिन्छ र ? यो दुःखद कुरा हो । यो विषय जनतामा नकारात्मक किसिमले आइरहेको छ । यसमा हामी सबै दुःखी छौं ।

अब यसलाई सुधार्ने सम्भावना छैन ? यो विषय पार्टीमा समीक्षा भएको छ छैन ?

केही पनि भएको छैन । त्यसयता बैठकै बस्न पाएको छैन । यो सबै घटनाक्रमलाई लिएर पार्टीले समीक्षा गर्ला, यसलाई सच्याउन खोज्ला । यो अध्यक्षज्यूकै जिम्मेवारीमा भएको कुरा हो । उहाँले नै सच्याउने अगुवाइ गर्नुपर्छ ।

कहिले समीक्षा हुन्छ ? केही तयारी छ ?

थाहा छैन । म अहिले नेपालगन्जमा छु । मेरै क्षेत्रमा दादुरा फैलिएको छ र मलाई आउने जरुरी भएकाले पनि यतै छु । २÷४ दिनमा काठमाडौं जान्छु र पार्टीको बैठकमा यो विषयमा छलफल हुनेछ ।

अहिले राजेन्द्र लिङ्देनजस्तै रवि लामिछानेको आलोचना भइरहेको छ, यस्तो किन भएको होला ? तपाईंहरु आमाको रगतको कसम खाएर संसदमा जानुभएको होइन ?

रविजीको विषयमा पनि टिकाटिप्पणी भइरहेको छ । श्रममन्त्रीको विषयमा पनि टिकाटिप्पणी भइरहेको छ । स्वार्थ बाझिएका व्यक्तिहरूलाई मन्त्री बनाउन हुँदैन भन्ने ठूलो आवाज उठेको छ । प्रधानमन्त्रीले, यो संयन्त्रको पनि अध्यक्षले यो कुरालाई विचार गर्नुपर्ने हो ।

के भइरहेको छ, हामी सबैलाई थाहा छ । हामीले नकार्न सक्दैनौं । सबैले सफाइ पाउलान् र यो कुरा विस्तारै साम्य होला भन्नेबाहेक अहिले के भन्न सकिन्छ ? उहाँहरूले आफ्नो पार्टीको कुरा आफैं महसुस गरेर यसलाई सुधार गर्नुपर्छ भन्नेजस्तो मलाई लाग्छ ।

तर, पार्टीलाई त क्षति पुग्छ नि हैन ?

क्षति त पार्टीलाई पुगिसकेको छ । हामी सबैलाई थाहा छ । तर, अब राम्रो काम गरेर त्यो क्षतिलाई कम गर्न सकिन्छ कि भन्ने आशा गरेका छौं ।

अहिलेको सरकार कसरी अगाडि बढ्नुपर्छ ? तपाईंको के सुझाव छ ?

सरकार निडर भएर अगाडि बढ्नुपर्छ । यो देश नियम–कानुनमा अल्झिएको छ, अदालतमा अल्झिएको छ । राष्ट्रिय योजनाहरू कानुनमै अल्झिएका छन्, यो सबैलाई प्रधानमन्त्रीले नै अगुवाइ गरेर अवरोधहरूलाई पाखा लगाउन सकिएन भने यो देश अगाडि बढ्दैन । चाहे त्यो आर्थिक मामिलामा होस्, चाहे पर्यटनका मामिलामा होस् चाहे राष्ट्रिय गौरवका आयोजनाहरूको कुराहरूमा होस्, प्रशासनका कुरामा होस् ।

धेरै कुरा नियम कानुनका कुरामा अल्झेको छ । अदालतमा पनि अल्झिएका छन् । योजनाहरू सबै ठप्प छन् । यसमा प्रधानमन्त्री स्वयंले हिम्मत गरेर अगाडि बढ्नुभएन भने धेरै उपलब्धि हुन सक्दैन भन्ने मलाई लाग्छ ।