दाहालले कांग्रेसप्रति विश्वास देखाउलान् कि एमालेप्रति ?

माघ १, २०७९ |विकास आचार्य
दाहालले कांग्रेसप्रति विश्वास देखाउलान् कि एमालेप्रति ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेपाली कांग्रेससँगको गठबन्धन तोडेर पुस १० गते एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा भएको सहमति अनुसार प्रधानमन्त्री बनेका हुन् । त्यस दिन राष्ट्रपति र सभामुखमा पनि सहमति जुटेको दुवै दलका नेताले बताएका थिए । तर, प्रधानमन्त्री दाहालले राष्ट्रपति तथा सभामुखको विषयमा कसैसँग सहमति नभएको बताएर नयाँ बहस सिर्जना गरिदिएका छन् ।

दाहालले कांग्रेसलाई पनि समेट्नुपर्ने भनेपछि एमाले झस्किएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले शनिबार केही सम्पादकहरूसँगको छलफलमा राष्ट्रपति तथा सभामुखको विषयमा कुनै पनि दलसँग सहमति नगरेको बताएका थिए । हुन त सम्पादकहरूसँग छलफलमा बस्नुअघि प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष केपी ओलीबीच बालुवाटारमै करिब तीन घण्टा छलफल भएको थियो । तर, त्यस लगत्तै प्रधानमन्त्री दाहालले प्रतिपक्षी कांग्रेसले पनि आफूलाई विश्वास गरेको र उसलाई पनि समेट्नुपर्ने भनेपछि सत्ता गठबन्धनको सबैभन्दा ठुलो दल एमाले झस्किएको छ ।

एमाले र माओवादीका नेताहरूले राष्ट्रपति पूरा कार्यकाल एमालेले पाउने र प्रधानमन्त्री एउटा पार्टीको हुँदा अर्कोको सभामुख हुने गरी पुस १० मै सहमति जुटेको यसअघि बताएका थिए । विश्वासको मत लिने बेलामा प्रधानमन्त्री दाहालले नेपाली कांग्रेसलाई कुनै आश्वासन दिएका थिए कि भन्ने चर्चा चलिरहेका बेला दाहालले शनिबार कांग्रेसलाई पनि समेट्नु आफ्नो दायित्व भएको बताएका हुन् ।

प्रधानमन्त्री दाहालको खुलासा : सभामुख र राष्ट्रपतिबारे कसैसँग सहमति गरिएको छैन

त्यसो त प्रधानमन्त्री दाहालले मात्र चाहँदैमा कांग्रेसलाई कुनै पद दिन सहज छैन । किनकि गठबन्धनको ठुलो दल एमाले पुस १० गते प्रधानमन्त्रीका लागि दाबी पेस गर्न समर्थन गर्ने ७ दलबाहेक अरूसँग शक्ति बाँडफाँट गर्न तयार छैन ।

एमाले र माओवादी केन्द्रबीच राष्ट्रपति, प्रधानमन्त्री र सभामुखको विषयमा भद्र सहमति भएको थियो भने प्रधानमन्त्रीले किन अहिले राष्ट्रिय सहमतिको कुरा गरेका होलान् ? प्रधानमन्त्री दाहालले कांग्रेसलाई विश्वासमा लिन खोजेका हुन् या एमालेप्रति अविश्वास ? प्रधानमन्त्रीले माघ ३ गते बोलाएको सर्वदलीय बैठकले यसको निर्क्योल गर्ला ।


Image

विकास आचार्य

आचार्य कान्तिपुर टेलिभिजनका काठमाडौंस्थित संवाददाता हुन् ।