काठमाडौं । नेपाली कांग्रेसका नेता डा. चन्द्रकान्त भण्डारीले पार्टीले मुलुक विषम राजनीतिक संकटबाट गुज्रिरहेको भन्दै पार्टीले मुलुक, लोकतन्त्र र जनताको हितलाई पहिलो प्राथमिकता दिनुपर्ने बताउनुभएको छ ।
मंगलबार पार्टी केन्द्रीय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाली कांग्रेसले मुलुक, लोकतन्त्र र नागरिक अधिकारलाई प्राथमकिता दिँदै आएको पनि बताउनु भयो ।
उहाँले मुलुकको वर्तमान राजनीतिक संकट र संवैधानिक विचलनको अवस्थाबाट कसरी अघि बढ्ने भन्नेबारे केन्द्रीय कमिटीको बैठकले ठोस निर्णय गर्ने पनि बताउनु भयो । उहाँकाअनुसार बैठकले पार्टीको महाधिवेशन नियमित समयमा गर्ने कि सार्ने विषयमा समेत निर्णय गर्नेछ ।
उहाँले पार्टी सभापति शेरबहादुर देउवाले यसअघि नै नेतृत्व छोड्ने बताइसकेको उल्लेख गर्दै निश्चय पनि अगामी महाधिवेशनबाट पार्टीको नेतृत्व परिवर्तन हुने पनि बताउनु भयो । नेपाली कांग्रेसले अन्य राजनीतिक दलहरू र जेन-जी पुस्ताहरूसँग समेत सल्लाह गरेर संविधानमा परिवर्तन गर्नुपर्ने उहाँको भनाइ छ ।
उहाँले समानुपातिक सांसदहरूलाई कहाँ राख्ने र एउटै राजनीतिक दलको बहुमत कसरी आउनसक्छ भन्ने कुरालाई निकास दिनको लागि संसदबाट पास गर्नेगरी संविधान ब्युँताउन जरूरी रहेको बताउनु भयो ।