काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले अहिलेसम्म नेकपा एमाले लगायत कसैसँग राष्ट्रपति, सभामुख लगायतका पदबारे सहमति नगरिएको खुलासा गरेका छन् ।
प्रधानमन्त्री दाहालले नेपाली कांग्रेसलाई सभामुख दिन सकिने संकेतसमेत गरेका छन् । माघ ३ गते आफूले बोलाएको सर्वदलीय बैठकबाट सभामुखमा सहमति खोजिने प्रधानमन्त्रीको भनाइ छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार मूलधारका मिडियाका सम्पादकहरूसँग कुराकानी गर्दै प्रधानमन्त्री दाहालले भने, ‘सभामुख, राष्ट्रपतिबारे कसैसँग सहमति गरिएको छैन ।’
नेपाली कांग्रेसले विश्वासको मत दिइसकेपछि अब उसलाई पनि सहमतिमा ल्याउनु आफ्नो जिम्मेवारी भएको प्रधानमन्त्री दाहालको भनाइ छ । ‘कांग्रेसले भोट हाल्ला भन्ने कल्पना गरिएको थिएन, हालेपछि मेरो पनि जिम्मेवारी भयो, सभामुखमा के गर्ने भनेर सोध्नुपर्ने भयो,’ प्रधानमन्त्री दाहालले भने, सहमति बनाउने कोसिस किन नगर्ने भन्ने छ । सर्वदलीय बैठक बोलाउने निर्णय गरेको छु ।’
एमाले अध्यक्ष केपी शर्मा ओलीसँग शनिबार नै भएको छलफलपछि सहमतिमै माघ ३ गते सर्वदलीय बैठक आह्वान गरिएको प्रधानमन्त्री दाहालले जानकारी दिए ।
आगामी माघ ५ गते सभामुखको निर्वाचन गर्ने कार्यसूची छ । त्यसको दुई दिन अघि प्रधानमन्त्रीले कांग्रेससहित संसदमा उपस्थित दलहरुलाई सर्वदलीय बैठकको निम्तो दिएका छन् ।
मेरो भारत भ्रमण चाँडै हुन्छ : प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री दाहालले बोल्नुपर्ने कुरा बोलिसकेको भन्दै अब काम गरेर देखाउने दाबी गरे । आफू नियमित रूपमा सिंहदरबार जाँदा सरकारको काम प्रभावकारी हुने महसुस गरेको बताए ।
आफ्नो भारत भ्रमण चाँडै हुन लागेको र यसको तयारी भारतीय दूतावासले गरिरहेको प्रधानमन्त्री दाहालले जानकारी दिए ।
यसैबीच प्रधानमन्त्री दाहालले आइतबार साँझसम्म मन्त्रिपरिषद्ले पूर्णता पाइसक्ने जानकारी दिएका छन् ।
‘भोलि (आइतबार) साँझसम्म मन्त्रिपरिषद् विस्तार हुन्छ,’ प्रधानमन्त्री दाहालले भने, ‘पर्सि सोमबार फूल क्याबिनेट बस्छ ।’
गत पुस ११ गते तीन उपप्रधानमन्त्री र चार मन्त्रीसहित शपथग्रहण गरेका प्रधानमन्त्री दाहालले अहिलेसम्म मन्त्रिपरिषद् विस्तार गरेका छैनन् । शनिबार ओलीसँग भएको छलफलपछि मन्त्रिपरिषद् विस्तारको सहमति जुटेको प्रधानमन्त्रीको भनाइ छ ।
यसैबीच मन्त्रिपरिषद् विस्तारबारे प्रधानमन्त्रीसँग छलफल गर्न शनिबार बेलुका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने बालुवाटार पुगेका छन् ।