भोलि मन्त्रिपरिषद् विस्तार हुन्छ : प्रधानमन्त्री दाहाल

पुस ३०, २०७९ |कान्तिपुर टीभी संवाददाता
भोलि मन्त्रिपरिषद् विस्तार हुन्छ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिपरिषद्ले भोलि पूर्णता पाउने भएको छ । 

प्रधानमन्त्री दाहालले भोलि (आइतबार) मन्त्रिपरिषद्को विस्तार हुने जानकारी दिएका छन् । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सञ्चारमाध्यमका सम्पादकहरुसँगको छलफलमा प्रधानमन्त्री दाहालले आइतबार मन्त्रिपरिषद विस्तार हुने र पर्सी (सोमबार) पूर्ण मन्त्रिपरिषद्को बैठक बस्ने बताए । 

‘भोलि मन्त्रिपरिषद विस्तार हुन्छ र पर्सि फूल क्याबिनेट बस्छ।’ उनले भने ।

प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमणको तयारी पनि भइरहेको जानकारी दिँदै भने, 'मेरो भारत भ्रमण चाडै हुन्छ, दूतावासले समन्वय गरिरहेको छ ।' 

प्रधानमन्त्री दाहालका अनुसार सर्वदलीय बैठक बोलाउने तयारी भएको छ । माघ ३ गते सर्वदलीय बैठक बोलाउने निर्णय भएको जानकारी दिँदै प्रधानमन्त्री दाहालले राष्ट्रपति र सभामुखबारे कसैलाई सहमति नगरिएको स्पष्ट पारे ।

यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त दाहालले पुस २६ गते संसदबाट विश्वासको मत लिएका थिए । आफू प्रधानमन्त्रीमा नियुक्त भएकै दिन सानो आकारको आठ सदस्यीय मन्त्रिपरिषद गठन गर्दै तीन उपप्रधानमन्त्रीसहित सात मन्त्री नियुक्त गरेका थिए ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्रीमा नेकपा एमालेका विष्णु पौडेल, उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार मन्त्रीमा माओवादीका नारायणकाजी श्रेष्ठ तथा उपप्रधानमन्त्री एवं गृह मन्त्रीमा रवि लामिछाने छन् । 

अन्य चार जनालाई भने विना विभागीय मन्त्रीका रुपमा नियुक्त गरिएको छ । मन्त्रीमा नियुक्त ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राई र अब्दुल खानको मन्त्रालय तोकिएको छैन ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.