हावाहुरीका कारण धनकुटाको कृषिमा १ करोड २५ लाख बराबरको क्षति

चैत्र १७, २०८२ |विनोद घिमिरे
हावाहुरीका कारण धनकुटाको कृषिमा १ करोड २५ लाख बराबरको क्षति

धनकुटा । गत चैत २ गते राति आएको हावाहुरी र असिना पानीका कारण धनकुटामा कृषि क्षेत्रमा करिब १ करोड २५ लाख रूपैयाँ बराबरको क्षति भएको छ ।

कृषि ज्ञान केन्द्र धनकुटाले हावाहुरीबाट साँगुरीगढी गाउँपालिका र छथर जोरपाटी गाउँपालिकामा सबैभन्दा बढी क्षति पुगेको जनाएको छ । हावाहुरीका कारण आँप, लिची, रूद्राक्ष, मकै तथा सीमी बालीमा नोक्सानी भएको केन्द्रले जनाएको छ । 

त्यस्तै छथर जोरपाटी गाउँपालिकाको सिधुवा र मजुवा क्षेत्रमा प्लास्टिक टनेल तथा अलैँची भट्टीमा समेत क्षति पुगेको कृषि ज्ञान केन्द्रका निमिक्त प्रमुख नगेन्द्र रानाले जानकारी दिनुभयो । उहाँका अनुसार प्रभावित किसानहरूले न्यूनतम ५ हजारदेखि अधिकतम २५ लाख रूपैयाँसम्मको क्षति व्यहोरेका छन् । 

कृषि ज्ञान केन्द्रले स्थानीयतहसँग समन्वय गरेर क्षतिको विवरण संकलन गरी कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयमा पठाइसकेको जनाएको छ । तर, क्षतिपूर्ति उपलब्ध हुने नहुने विषयमा भने हालसम्म टुङ्गो लागिनसकेको कृषि ज्ञानकेन्द्र धनकुटाका निमित्त प्रमुख नगेन्द्र रानाले बताउनु भयो ।


Image

विनोद घिमिरे

घिमिरे कान्तिपुर टेलिभिजनका धनकुटा संवाददाता हुन् ।