
रामेछाप । रामेछापका लोपोन्मुख हायु समुदायको जीवनशैली विस्तारै फेरिँदै गएको छ।
पछिल्ला वर्षहरूमा राज्यको सामाजिक सुरक्षा नीतिबाट हायु समुदायको जीवनशैलीमा सुधार आएको हो। नियमितरूपमा प्राप्त हुने भत्ताले उनीहरूको दैनिक आवश्यकता पूरा गर्न सहज बनाएको छ भने शिक्षा, स्वास्थ्य लगायतका आधारभूत खर्चमा समेत सहयोग पुगेको छ।
रामेछाप नगरपालिका-७ मुगानका ७० वर्षीय रुद्रबहादुर हायु र उहाँकी श्रीमती सानु खेतबारी र गोठको काममा व्यस्त हुनुहुन्छ । वृद्धावस्थामा पुगे पनि उहाँहरूको दैनिकी खेतबारी र गोठमै बित्ने गरेको छ । लोपोन्मुख हायु समुदायका परम्परागत पेसा बाासबाट मान्द्रो, डोको, डालो र नांग्लो बनाउने हो ।
पहिले यिनै सामग्री बेचेर घरखर्च चल्थ्यो । तर, समयसँगै बजार बदलियो, माग घट्यो, अनि जीवन धान्न नयाँ बाटो खोज्नुपर्यो । अहिले उहाँहरूको मुख्य आधार कृषि र पशुपालन बनेको छ । रुद्रबहादुर दम्पतीलाई पशुपालन र खेती विस्तारका लागि राज्यले उपलब्ध गराउने सामाजिक सुरक्षा भत्ता ठूलो सहयोगी बनेको छ।
मासिक भत्ता अहिले बढेर चार हजार रुपैयाँ पुगेको छ। हायु दम्पतीले सामाजिक सुरक्षा भत्ता उपभोगमा मात्रै खर्च नगरेर त्यसलाई कृषि र पशुपालनमा लगानी गर्नुभएको छ। २०७८ सालको जनगणनाअनुसार नेपालभर हायु जातिको जनसंख्या ३ हजार ६९ छ ।
तीमध्ये रामेछापमा मात्रै १ हजार १२६ जना हायू बसोबास गर्छन् । रामेछाप नगरपालिका-६, ७ र ८ वडामा हायुको बसोबास छ । तथ्यांकअनुसार सबैभन्दा बढी जनसंख्या वडा नं. ७ को सुकाजोर क्षेत्रमा छ, जहाा ६९७ भन्दा बढी हायु बसोबास गर्छन् ।
जिल्लाभर भने हायुको कुल जनसंख्या १ हजार १२६ छ । अधिकांशले सामाजिक सुरक्षा भत्ताबाट प्राप्त हुने रकमलाई पशुपालन, कृषि तथा साना व्यवसायमा लगानी गरेका छन् । जसले उनीहरूको आर्थिक गतिविधि र जीवनस्तर सुधारमा सकारात्मक प्रभाव पारेको छ ।
सरकारले २०६७ साल साउनदेखि हायु जातिलाई लक्षित गरी मासिक सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन थालेपछि उनीहरूको आर्थिक-सामाजिक पक्ष सुधार हुँदै गएको हो । विस्तारै सरकारी सेवामा समेत यो समुदायको पहुँच बढेको छ । सरकारी जागिरेबाहेकका सबैलाई सरकारले भत्ता उपलब्ध गराउँछ ।
भत्तालाई उनीहरुले पशुपालन र कृषिमा लगानी गरेर आम्दानीको मुख्य आधार बनाएका छन् । रामेछाप नगरपालिका-७ मुडाजोरलाई उद्गम थलो मान्ने हायु समुदाय अहिले कृषि, पशुपालन र साना उद्यमतर्फ पनि लागेको छ । सरकारले उपलब्ध गराउँदै आएको मासिक भत्ताले आधारभूत आवश्यकता पूरा गर्न मात्र होइन, उत्पादनशील क्षेत्रमा लगानी गर्नसमेत प्रेरित गरेको छ ।