किशोरीलाई आत्मरक्षा तालिम, यौन हिंसा न्यूनीकरणमा लुम्बिनी प्रदेशको पहल

जेष्ठ १२, २०८३ |माधव अर्याल
किशोरीलाई आत्मरक्षा तालिम, यौन हिंसा न्यूनीकरणमा लुम्बिनी प्रदेशको पहल

पाल्पा । किशोरीमाथि हुने शारीरिक दुर्व्यवहार तथा यौन हिंसाका घटना न्यूनीकरण गर्न लुम्बिनी प्रदेश सरकार र स्थानीय तह मिलेर किशोरीहरूलाई आत्मरक्षा तालिम दिएका छन्। 

यौनजन्य दुर्व्यवहारबाट जोगिने आधारभूत सीपसहित आत्मविश्वास बढाउने क्रियाकलाप तालिममा समावेश छ। विगतमा स्थानीय तहले सञ्चालन गरेका यस्ता तालिम चालु आर्थिक वर्षमा भने लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा सामाजिक विकास मन्त्रालयले सञ्चालन गरेको हो ।

लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गतका डिभिजनका साथै स्थानीय तहहरूले किशोरीहरूलाई आत्मरक्षा तालिम सञ्चालन गरेका हुन् । सहभागी किशोरीहरूलाई तेक्वान्दो तथा कराते प्रशिक्षकहरूले अप्रत्याशित रूपमा हुनसक्ने आक्रमणबाट जोगिने अभ्याससमेत सिकाएका छन् । 

किशोरीहरूलाई कसैले यौनजन्य दुव्यर्वहार गरे तत्काल प्रत्याक्रमण गरी उम्कनसक्ने प्रशिक्षणमा सिकाइएको छ । किशोरीहरूलाई आत्मरक्षाका विभिन्न उपाय सिकाइएको छ । तालिममा किशोरीहरूलाई शारीरिक र मानसिकरूपमा सक्षम बनाउनेदेखि यौनजन्य हिंसा र दुव्यर्वहारबाट सुरक्षित रहन अपनाउन सकिने उपायबारे ज्ञान दिइएको छ । 

४५ दिने तालिमले किशोरीमा आत्मबल बढेको विद्यालय पक्षको विश्वास छ । सामाजिक विकास डिभिजन कार्यालयले कार्यविधि नै बनाएर पहिलो चरणमा १२ जिल्लामा नमुनाको रूपमा तालिम सञ्चालन गरेको हो । स्थानीय तहले पनि यसअघि यस्ता तालिम सञ्चालन गर्दैआएका छन् । 

विद्यालयका किशोरी तथा बालिकालाई आत्मरक्षा तालिम दिन कतिपय गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट व्यवस्थापन गरेका छन् । १२ जिल्लामा करिब ३ सय प्रशिक्षक तयार भएकाले विद्यालयले कक्षा ८ देखि १२ सम्मका छात्रालाई तालिम दिनसक्ने भएका छन् । 

प्रत्येक विद्यालयमा तालिम प्राप्त किशोरीले अन्य विद्यार्थीलाई सिकाउने हो भने त्यसका लागि स्थानीय तहले सहयोग गर्नुपर्छ । जसले गर्दा दुर्व्यवहार र यौनहिंसाका घटनामा कमी ल्याउन सकिन्छ ।


Image

माधव अर्याल

अर्याल कान्तिपुर टेलिभिजनका पाल्पा संवाददाता हुन् ।