तातोपानी नाकाबाट भन्सार छली : चिनियाँ सामानसहित भ्यान नियन्त्रणमा

चैत्र ३०, २०८२ |कमला पाख्रिन
तातोपानी नाकाबाट भन्सार छली : चिनियाँ सामानसहित भ्यान नियन्त्रणमा

सिन्धुपाल्चोक । जिल्लाको तातोपानी नाकाबाट भन्सार छली गरी भित्र्याइएको ठूलो परिमाणको चिनियाँ किराना सामानसहित भ्यान नियन्त्रणमा लिइएको छ। 

बलेफी गाउँपालिका-८ मा इलाका प्रहरी कार्यालय ईनारचोक बेसबाट खटिएको सशस्त्र प्रहरीको चेकपोष्ट टोलीले बाह्रबिसेबाट खाडिचौरतर्फ आउँदै गरेको ना ३ ख ५१४० नम्बरको भ्यान चेकजाँच गर्ने क्रममा उक्त सामान फेला पारेको हो। 

जाँचका क्रममा भ्यानमा राखिएका सामानका लागि आवश्यक बिल-बिजक तथा भन्सार प्रज्ञापन पत्र नभेटिएपछि करिब ८६ लाख ३१ हजार ८ सय रूपैयाँ बराबरका विभिन्न चिनियाँ किराना सामग्री बरामद गरिएको हो। बरामद गरिएको सामान र सवारीसाधनसहित कुल मूल्य करिब १ करोड १ लाख ३१ हजार ८ सय रुपैयाँ पुग्ने प्रहरीले जनाएको छ। 

नियन्त्रणमा लिइएको सामान तथा भ्यान आवश्यक कारबाहीका लागि तातोपानी भन्सार कार्यालय पठाइएको छ।


Image

कमला पाख्रिन

पाख्रिन कान्तिपुर टीभीका लागि सिन्धुपाल्चोक संवाददाता हुन् ।