
काठमाडौं । चेक रिपब्लिकको विश्वकप यात्रा अविस्मरणीय क्षणले भरिएको छ ।
सन् १९३४ को सेमिफाइनलमा जर्मनीविरुद्ध ओल्डरिच नेजेड्लीको त्यो सानदार ह्याट्रिक होस् वा १९९० मा कोस्टारिकाविरुद्ध टोमास स्कुह्राभीको हेडर ह्याट्रिक- चेक फुटबलले विश्वमञ्चमा सधैँ आफ्नो बलियो उपस्थिति जनाउँदै आएको छ । आजको विश्वकप विशेषमा हामी विश्वफुटबलमा कयौं अविस्मरणीय क्षण दिएको चेक रिपब्लिकको चर्चा गर्दैछौं ।
चेक रिपब्लिकको विश्वकप इतिहास निकै गौरवशाली छ । चेकोस्लोभाकियाको रूपमा यो टोलीले सन् १९३४ र १९६२ मा दुई पटक विश्वकपको उपविजेता बनेको थियो । सन् १९३४ मा आयोजक इटालीसँग अतिरिक्त समयमा पराजित हुनु र १९६२ मा ब्राजिलको बलियो टोलीलाई चुनौती दिनु चेक रिपब्लिकको लागि अहिलेसम्मकै उत्कृष्ट विश्वकप प्रदर्शन हुन् ।
समग्रमा यो टोलीको १०औँ विश्वकप यात्रा हो । तर, यस पटकको यो विश्वकप पुनरागमन सहज भने थिएन। २० वर्षको पर्खाइपछि चेक टोलीले २०२६ को विश्वकप टिकट काटेको हो । छनोट चरणमा क्रोएसियापछि दोस्रो स्थानमा रहेपनि यो टोलीले प्ले-अफको कठिन बाटो रोज्नुपर्यो ।
प्ले-अफको सेमिफाइनलमा आयरल्यान्डलाई र फाइनलमा डेनमार्कलाई पेनाल्टी सुटआउटमा ३-१ ले पराजित गर्दै चेक रिपब्लिकले उत्तर अमेरिकाको यात्रा तय गरेको हो । टोलीको सफलताको पछाडि ७५ वर्षीय प्रशिक्षक मिरोस्लाभ कुबेकको हात छ, जो यस विश्वकपका सबैभन्दा बढी उमेरका प्रशिक्षक समेत हुन् ।
उनले टोलीमा नयाँ ऊर्जा भरेका छन्। बायर लेभरकुसेनका स्ट्राइकर प्याट्रिक शिक यस पटक टोलीमा महत्वपूर्ण रहन सक्छन् । त्यस्तै वेस्ट ह्यामका मिडफिल्डर टोमास सौचेक पनि टोलीको मिडफिल्डमा महत्वपूर्ण रहने छन् । छनोट चरणमा महत्त्वपूर्ण गोल गरेका कप्तान लादिस्लाभ क्रेज्सीको उपस्थिति पनि यस पटक निर्णायक बन्ने अपेक्षा छ ।
यसअघि सन् २००६ को जर्मनी विश्वकपमा चेक टोली समूह चरणबाटै बाहिरिएको थियो । त्यसबेला टोमास रोसीकी र यान कोलर जस्ता दिग्गजहरू भए पनि टोलीले अपेक्षा अनुसार प्रदर्शन गर्न सकेन । तर, यसपटकको तयारी भिन्न छ। अमेरिकाको टेक्ससस्थित म्यान्सफिल्ड स्टेडियमलाई आफ्नो बेस क्याम्प बनाएको चेक टोली फिजिकल फुटबल खेल्ने टोलीको रुपमा चिनिन्छ ।
यस पटक समूह 'ए' मा रहेको चेक रिपब्लिकले आफ्नो पहिलो खेल जुन ११ मा दक्षिण कोरियाविरुद्ध खेल्नेछ । जुन १८ मा दक्षिण अफ्रिकाविरुद्ध एटलान्टा स्टेडियममा दोस्रो खेल खेल्नेछ । त्यस्तै उसले जुन २४ मा आयोजक मेक्सिकोविरुद्ध मेक्सिको सिटी स्टेडियममा सामना गर्नेछ ।
विश्व वरीयतामा ४१औँ स्थानमा रहे पनि यो टोलीलाई "जायन्ट किलर" मानिन्छ । वर्षौँको प्रतीक्षा पछि फर्किएको यो टोली २०२६ को विश्वकपमा अर्को एउटा अविस्मरणीय इतिहास कोर्ने लक्ष्यमा छ ।