
चितवन । चितवनमा गत भदौमा भएको जेन-जी आन्दोलनमा संलग्न भएका मध्ये १२ जना कारागार चलान भएका छन् ।
भदौ २३ र २४ गतेको आन्दोलनमा तोडफोड तथा आगजनीमा संलग्न भएका मध्ये १२ जना कारागार चलान भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक (एसपी) गोविन्द पुरीले जानकारी दिनुभयाे । हालसम्म सो घटनामा संलग्न मध्ये ५३ जना पक्राउ परेकोमा ४१ जना धरौटीमा छुटेको प्रहरी उपरीक्षक पुरीले जानकारी दिनुभयाे ।
आठ जनालाई चितवन जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठाएको, तीन जना धरौटी बुझाउन नसकेर कारागार गएको प्रहरी उपरीक्षक पुरीले जानकारी दिनुभयाे । कारागार पठाइएका बाँकी एक जना लागूऔषध मुद्दामा फरार थिए भने उनलाई प्रहरीले अभद्र व्यवहारको मुद्दा चलाएको छ ।
आन्दोलनमा भएको आगजनी र तोडफोडको विषयमा जिल्ला प्रहरी कार्यालयमा ८४ वटा जाहेरी दर्ता भएको थियो । ती जाहेरी मध्ये ६२ वटा सरकारी कार्यालय, नाै वटा पार्टी कार्यालय तथा सञ्चार संस्था, तीन वटा व्यवसाय र १० जना व्यक्तिकोतर्फबाट परेको प्रहरी उपरीक्षक पुरीले जानकारी दिनुभयाे । प्रहरीले ७४ वटा अपराधिक उपद्रव, सातवटा अभद्र व्यवहार, दुईवटा चोरी र एउटा लागूऔषध मुद्दा चलाएको छ ।