दुर्गन्धमा निसासिँदो भैरहवा

बुद्ध जन्मस्थलको प्रवेशद्वारमै फोहोरका डंगुर
वैशाख २०, २०८३ |अमृता अनमोल
दुर्गन्धमा निसासिँदो भैरहवा

रूपन्देही । पैदलमार्ग हुँदै भारतीय सीमाबाट पर्यटक प्रवेश गर्ने प्रमुख सहर हो भैरहवा । 

लुम्बिनी भ्रमणमा आउने भारतीयसहित तेस्रो मुलुकका धेरै पर्यटक स्थल नाका हुँदै बेलहियाबाट भैरहवा प्रवेश गर्छन । तर, भैरहवामा फोहोर नउठ्दा पछिल्लो समय सहर फोहोर र दुर्गन्धित बनेको छ ।

बुद्ध जन्मस्थल लुम्बिनीको प्रवेशद्धार रूपन्देहीको भैरहवा अहिले फोहोर र दुर्गन्धले कुरूप बनेको छ । यहाँ झन्डै डेढ हप्तादेखि फोहोर उठेको छैन । मुख्य राजमार्गदेखि मुख्य चोक हुँदै भित्रि गल्लीहरूमा फोहोरका डंगुर छन् । घरघरमा संकलन भएको फोहोर ल्याएर सडकमा असरल्ल फालिएको फोहोर गर्मीले गन्हाउन थालेको छ । 

सिद्धार्थनगर नगरपालिकाले फोहोर व्यवस्थापन गर्दै आएको डन्डा नदी छेउमा डम्पिङ नगर्न सर्वोच्च अदालतले यही वैशाख ४ गते आदेश गरेपछि फोहोर उठ्न छाडेको हो । जसले गर्दा नगर दुर्गन्धित बन्दैगएको छ । रोगकिराको समेत संक्रमण बढ्ने भय स्थानीयमा छ ।

डन्डा किनारमा फोहोर फाल्न सर्वोच्चले रोक लगाएपछि अन्यत्र कहाँ फोहोर व्यवस्थापन गर्ने अन्योल छ । तत्कालका लागि पालिकाले प्लास्टिकमा फोहोर बाँधेर सडक किनारमा थुपारिरहेको छ । व्यवसायीहरूलाई होटल पसलको फोहोर आफैं व्यवस्थापन गर्न भनेको छ । तर, कहिलेसम्म यसरी फोहोर राख्ने व्यवसायी आजित छन् ।

भैरहवामा दैनिक करिब २० टन फोहोर संकलन हुन्छ । फोहोर उठ्न नसक्दा बजारभरि असरल्ल छ । फोहोर व्यवस्थापनको विकल्प नभेटेपछि नगरपालिकाले स्थानीयलाई कुहिने र नकुहिने फोहोर घरमै छुट्याउन आग्रह गरेको छ । तर, यसले मात्र फाहोरको समस्या थेगिँदैन ।

सिद्धार्थनगर नगरपालिकाले यसअघि फोहोर व्यवस्थापन गर्न भन्दै ओमसतियामा ६ बिघा जमिन किनेको छ । तर, स्थानीयको विरोधले व्यवस्थापन हुन सकेन । यही कारण एसियाली विकास बैंकले उपलब्ध गराएको ३२ करोड रुपैयाँ फ्रिज भयो । 

फोहोर व्यवस्थापनको जिम्मा स्थानीय सरकारलाई भएकाले नगरपालिकाले जसरी पनि फोहोरको दीर्घकालीन समाधान खोज्नुपर्छ ।


Image

अमृता अनमोल

अनमोल कान्तिपुर टेलिभिजन रुपन्देही संवाददाता हुन् ।