पर्यटनसँगै ‘अटो हब’ बन्दै चितवन, ‘अटो सो’ले बढायो उपभोक्ताको उत्साह

वैशाख २०, २०८३ |राजु चौधरी
पर्यटनसँगै ‘अटो हब’ बन्दै चितवन, ‘अटो सो’ले बढायो उपभोक्ताको उत्साह

काठमाडौं । चितवन पर्यटकीय दृष्टिकोणले नेपालकै तेस्रो गन्तव्य हो । 

अब चितवनको परिचयमा पर्यटनमात्रै नभएर अटो क्षेत्रको देशकै तेस्रो ठूलो बजारसमेत थपिएको छ । बढ्दो सहरीकरणसँगै अटो बजार विस्तार हुँदा काठमाडौंपछिकै ठूला अटो मेलाहरूसमेत चितवनमा लाग्नथालेका छन् । 

जसका कारण उपभोक्ता लाभान्वित बनिरहेका छन् । चितवनको भरतपुर महानगरपालिका-१० स्थित चितवन औद्योगिक प्रदर्शनी केन्द्रमा केही दिनयता मानिसहरूको बाक्लो उपस्थिति छ । अरु बेला विभिन्न स्थानीय उत्पादनसहितका मेला लाग्दै आएको यो ठाउँमा अहिले 'काडा अटो शो'ले सबैको ध्यान तानेको छ । 

प्रदर्शनीमा विभिन्न कम्पनीका नयाँ र आकर्षक मोडलका गाडीहरूको अवलोकन गर्न सकिन्छ । एकै छानामुनि विभिन्न कम्पनीका कारलगायत अन्य सवारीसाधनहरू प्रदर्शनीमा राखिएकाले उपभोक्ता लाभान्वित भइरहेका छन् । देशकै तेस्रो ठूलो अटो बजारको रूपमा चिनिने चितवनमा अटोमोबाइल पारखीहरूलाई लक्षित गर्दै सुरु गरिएको दोस्रो संस्करणको 'काडा अटो शो' बिहीबारदेखि जारी छ । 

अटोमोबाइल व्यवसायी र ग्राहकहरुबीच प्रत्यक्ष अन्तरक्रिया गराउने र नयाँ प्रविधिबारे जानकारी दिने उद्देश्यले आयोजना गरिएको यस प्रदर्शनीमा विभिन्न ४५ भन्दा बढी प्रख्यात ब्रान्डका कार, जिप, भ्यान, मोटरसाइकल, स्कुटर, एक्साभेटरलगायत अन्य सवारीसाधनहरू राखिएका छन् । 

अटोमोबाइल पारखीहरू एकै ठाउँमा सबै ब्रान्डका कारहरुको बारेमा बुझ्न पाएकाले दैनिक बिक्रीदर पनि बढ्दो छ । प्रदर्शनीस्थलबाटै धमाधम कार बुकिङ हुँदा व्यवसायी उत्साहित बनेका छन् । विगतमा चितवन महोत्सवभित्रै सानो ठाउँमा अटोमोबाइल प्रदर्शनी राखिन्थ्यो । 

गत वर्षबाट चितवन अटोमोबाइल डिलर्स एसोसिएसनले चितवन औद्योगिक प्रदर्शनीमा एउटा हलबाट 'काडा अटो साे'को सुरुवात गरेको हो । यस वर्ष सुविधासम्पन्न प्रदर्शनी हलको सबै ठाउँमा विस्तार गर्दै 'काडा अटो साे'लाई भव्य बनाइएको छ । जसका कारण यसलाई काठमाडौंबाहिरकै ठूलो अटो प्रदर्शनी दाबी गरिएको छ ।

चितवन नेपालको समग्र अटोमोबाइल क्षेत्रमा निकै महत्त्वपूर्ण मानिन्छ । संघीय राजधानी काठमाडौं र पोखरापछि चितवन देशकै तेस्रो ठूलो अटो बजार हो । आर्थिक गतिविधि र सहरीकरणको तीव्र विकाससँगै यहाँ सवारी साधनको माग पनि बढ्दो छ । 

चितवन अटोमोबाइल डिलर्स एसोसिएसनका अनुसार यहाँ वार्षिक एक हजार ३ सयभन्दा बढी नयाँ कारहरू बिक्री हुने गरेका छन् । दुई पाङग्रे सवारी मोटरसाइकल भने वार्षिक १० हजारभन्दा बढी बिक्री हुने गरेको छ । यस अटो सोले ग्राहकहरूलाई विभिन्न ब्रान्डका गाडीहरूको तुलनात्मक अध्ययन गर्न सहज बनाएको छ भने अटोमोबाइल कम्पनीहरुलाई आफ्नो बजार विस्तार गर्न महत्वपूर्ण मञ्च बनेको छ ।


Image

राजु चौधरी

चौधरी कान्तिपुर टेलिभिजनका चितवन संवाददाता हुन् ।