भक्तपुर । भक्तपुरको राधेराधेस्थित यातायात व्यवस्था कार्यालयमा सवारीचालक अनुमतिपत्र लाइसेन्स लिनेहरूको यतिबेला भिडभाड छ ।
सेवाग्राहीहरू बिहान ६ बजेदेखि नै लाइसेन्स लिन लाइन लागिसकेका हुन्छन् । जसका कारण कार्यालयका कर्मचारीहरूलाई पनि वितरण गर्न भ्याइनभ्याइ छ । वर्षौंदेखि बाँकी रहेको एक लाख ७५ हजार ५ सय थान लाइसेन्स एकैपटक कार्यालयमा आइपुगेपछि वितरणको तालिका मिलाउन कर्मचारीहरूलाई सकस भएको हो ।
वर्षौँको प्रतीक्षापछि लाइसेन्स आएपछि सेवाग्राहीको चाप बढेको यातायता व्यवस्था कार्यालय भक्तपुरले जनाएको छ । वर्षौदेखि बाँकी रहेको १ लाख ७५ हजार पाँचसय थान लाइसेन्स एकैपटक कार्यालयमा आएपछि वितरणको तालिका मिलाउन कर्मचारीलाई सकस भएको हो ।
कार्यालयमा पछिल्लो समय ४८ हजार लाइसेन्स छापिएर आएका छन् । लाइसेन्स लिन बिहान ६ बजेदेखि नै लाइन लाग्ने भए पनि ९ देखि ५ बजेसम्म लाइसेन्स वितरण हुने गरेको छ । दैनिक १२ सय जति मात्रै वितरण गर्नसकिने भएकाले कार्यालयमा आएका लाइसेन्स वितरण गर्नमात्रै ६ महिना लाग्ने देखिएको छ ।
त्यसमाथि हाल दैनिक ३ सयजना लाइसेन्स टेस्ट पास गर्ने गरिरहेकाले जिम्मेवारी थप भइरहेको कार्यालयले जनाएको छ । कार्यालयका निमित्त प्रमुख पवन कट्टेलले सीमित जनशक्तिका कारण पर्याप्त लाइसेन्स वितरणमा आफूसमेत खटिनुपरेको बताउनुहुन्छ ।
कार्यालयले लाइसेन्सको लिखित र प्रयोगात्मक परीक्षा तथा नवीकरणको नियमित काम यथावत् राखी लाइसेन्स वितरणको भार व्यहोर्नु परेको उहाँले बताउनुभयो । अन्य कामका लागि खटाउनुपर्ने कर्मचारी कटौती गरेर दैनिक १० जनालाई लाइसेन्स वितरणमा लगाइएको छ ।
सरकारले दुई पाँग्रे र चार पाँग्रे सवारीचालकहरूले लिखित र ट्रायल पास गरेर राजश्व बुझाएको २४ घन्टाभित्र लाइसेन्स हातपर्ने दाबी गरिरहँदा छापिएर आएको लाइसेन्स लिन नै सास्ती खेप्नु परेको छ । अहिले छापिएर आएका लाइसेन्स वितरण गर्नै ६ महिना लाग्ने भएपछि त्यसपछि आउने लाइसेन्स पाउन फेरि अर्को पनि ६ महिनाभन्दा पनि बढी समय लाग्ने देखिन्छ ।