
धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका–३ ढोडे स्थित भित्री सडक खण्डमा शनिबार दिउँसो पिकअप दुर्घटना हुँदा चार जना घाइते भएका छन्।
दिउँसो करिब २ बजे गुर्धुमबाट पञ्चकन्यातर्फ जाँदै गरेको को १ ज २२९५ नम्बरको पिकअप अनियन्त्रित भई करिब दुईसय मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। दुर्घटनापछि इलाका प्रहरी कार्यालय छिन्ताङबाट प्रहरी निरीक्षक विकास राईको नेतृत्वमा खटिएको टोलीले चालकसहित घाइते चारै जनाको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल धनकुटा पठाएको थियो।
घाइतेमध्ये चालक सहिदभूमि-१ बस्ने २१ वर्षीय पूर्ण राईको टाउकोमा गहिरो चोट लागेको छ भने शरीरका अन्य भागमा पनि चोट लागेको छ। उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनलाई थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा) रिफर गरिएको छ।
यस्तै, ३५ वर्षीया मीना तामाङको टाउकोमा चोट लागेको छ। उनी बोल्न सक्ने अवस्थामा रहे पनि मध्यम अवस्थामा रहेको र उनलाई पनि थप उपचारका लागि घोपामा रिफर गरिएको छ। १६ वर्षीय अमित राईको बायाँ हातमा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको र हाल धनकुटा नगरपालिका–१ हिलेस्थित निजी मेडिकलमा उपचार भइरहेको छ।
त्यस्तै, १६ वर्षीय अविन राईको देब्रे हातमा चोट लागेको छ। उनको अवस्था पनि मध्यम रहेको र धरानस्थित घोपामा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।