पश्चिम एसिया तनाव : नेपालीका लागि सीमित उडान र वैकल्पिक रूट मात्रै उपलब्ध

चैत्र ७, २०८२ |किरण पौडेल
पश्चिम एसिया तनाव : नेपालीका लागि सीमित उडान र वैकल्पिक रूट मात्रै उपलब्ध

काठमाडौं । पश्चिम एसियामा जारी तनावमा कारण यतिबेला त्यहाँ कार्यरत धेरै नेपाली प्रभावित भइरहेका छन् । 

लामो समयदेखि हवाई मार्गसमेत नियमित नहुँदा घर फर्कन चाहने र विदेश उड्न चाहने दुवै मारमा परिरहेका छन् । यता परराष्ट्र मन्त्रालयले स्वदेश फर्कन चाहेका नेपालीहरूका लागि केही सीमित रूट उपलब्ध भएको जानकारी गराएको छ । खाडीका आप्रवासी नेपाली स्वदेश फर्कन चाहेमा के छ त रूट ?

आपत्‌कालीन कारणले नेपाल फर्कन चाहनेहरूले सबैभन्दा पहिला आफू बसिरहेको देशको नेपाली दूतावास वा कन्सुलेटसँग सम्पर्क गर्नुपर्छ । यसपछि बल्ल आफ्नो ट्राभल रूट निर्धारण गर्नुपर्छ । अहिले यूएईमा दुबई, अबुधाबी र शारजाह अन्तर्राष्ट्रिय विमानस्थलहरू आंशिकरूपमा सञ्चालनमा छन् । 

यहाँबाट सोझै वा अन्यत्र ट्रान्जिट‍मार्फत नेपाल यात्रा गर्नसक्ने अवस्था छ । साउदी अरेबियामा रहेका रियाद र दमाम विमानस्थलबाट नियमित उडान नभए पनि यहाँबाट पनि सीधै वा ट्रान्जिटमार्फत यात्रा गर्न सकिन्छ । कतारबाट सीधा उडान सीमित छन् । त्यहाँबाट स्थलमार्ग प्रयोग गरी साउदी अरेबिया वा यूएई पुगेर मात्र उडान लिन सकिन्छ ।

कुवेतबाट पनि नेपाल जाने सीधा उडान सीमित छन् । त्यहाँबाट पनि स्थलमार्ग प्रयोग गरेर साउदी वा यूएईका विमानस्थल पुगी यात्रा गर्नुपर्छ । अहिले बहराइनबाट उडान अत्यन्त कठिन छ । नेपाल फर्कन चाहनेहरूले स्थलमार्ग हुँदै साउदी पुगेर अन्तर्राष्ट्रिय उडान लिनुपर्छ ।

ओमानमा मस्कट विमानस्थल खुला छ । केही उडान नियमित पनि छन् । यहाँबाट ट्रान्जिटमार्फत नेपाल फर्कन सकिन्छ । इराकबाट भने सीधा उडानको सम्भावना न्यून छ । स्थलमार्ग प्रयोग गरी साउदी वा यूएई पुगेर मात्र नेपाल फर्कन सकिन्छ ।

जुनसुकै मुलुकमा पनि आपत्‌कालीन कारणले फर्कन चाहे नजिकको दूतावास र नियोगमा सम्पर्क गर्न परराष्ट्र मन्त्रालयले आग्रह गरेको छ । सम्पर्कमा आएकाहरूलाई दूतावासले उपलब्ध उडान, ट्रान्जिट मार्ग र आवश्यक कागजातबारे जानकारी दिने र आवश्यक सहजीकरण गर्ने परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

पश्चिम एसिया जानेहरूका हकमा पनि सबैभन्दा पहिले दूतावाससँग सम्पर्क गरी उडान स्थिति, भिसा र ट्रान्जिट अनुमति जाँच गर्नु अपरिहार्य छ । यहाँ उल्लेखित रूट र विकल्पहरू समाचार पहिलोपटक प्रसारण हुँदासम्म बदलिएका छैनन् । यद्यपि, पश्चिम एसियाको तनावले यी विकल्पहरू जति नै बेला पनि बन्द हुनसक्छन् ।


Image

किरण पौडेल

पौडेल कान्तिपुर टेलिभिनजमा कार्यरत छन् ।