विवाहको प्रलोभन देखाएर मानव बेचबिखन प्रयास, सात जना पक्राउ

फाल्गुन २९, २०८२ |विकास आर्या
विवाहको प्रलोभन देखाएर मानव बेचबिखन प्रयास, सात जना पक्राउ

महोत्तरी । जिल्ला प्रहरी कार्यालय महोत्तरीले मानव बेचबिखन तथा ओसारपसारको आरोपमा सात जनालाई पक्राउ गरेको छ। 

नेपाली महिलालाई विवाहको प्रलोभनमा पारेर भारततर्फ लैजान खोज्ने गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरी निरीक्षक विश्वम्भर नाथ साहकाअनुसार दुई दिनअघि प्राप्त गोप्य सूचनाको आधारमा जलेश्वर नगरपालिका–३ मलिवारास्थित नेपाल–भारत भिठामोड सीमा क्षेत्रमा निगरानी बढाउँदा चार जना भारतीय नागरिक एक नेपाली महिलासँग शंकास्पद अवस्थामा फेला परेका थिए। 

जाँच गर्दा उनीहरू मानव बेचबिखन तथा ओसारपसारको प्रयासमा संलग्न रहेको खुलेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्ने भारतीय नागरिकहरूमा भारत गुजरात बस्ने ३६ वर्षीय सदिक बाक्सु भुर्च, ५६ वर्षीय हसम अब्दुला पटेलिया, २८ वर्षीय किसन भगवानभाई गढिया र २८ वर्षीय सुनिल भगवानभाई गढिया रहेका छन्।

प्रहरीका अनुसार उनीहरूले नेपाली महिलालाई ललाइफकाइ तथा विवाहको प्रलोभन देखाएर भारततर्फ लैजान खोजेका थिए। घटनामा संलग्न अन्य तीन जनालाई पनि प्रहरीले पक्राउ गरेको छ। उनीहरूमध्ये एक ५० वर्षीया महिला (धनुषा, मिथिलाबिहारी नगरपालिका–३०) पीडितको नक्कली आमाको भूमिका निभाएकी थिइन् भने १८ वर्षीया महिला (भंगहा नगरपालिका-६) बहिनीको रूपमा परिचित गराइएको थियो। 

यस्तै नेपालतर्फको मुख्य समन्वयकर्ता भंगहा नगरपालिका–८ का नुरी बाबा उर्फ नु अली रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका महिलाहरूको नाम गोपनीयताका कारण सार्वजनिक नगरिएको प्रहरीले जनाएको छ। सातै जनालाई जिल्ला अदालतमा उपस्थित गराई म्याद थप गरी विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। प्रहरीले सीमावर्ती क्षेत्रमा मानव बेचबिखनका घटना रोक्न निगरानी कडा बनाइएको समेत जनाएको छ।


Image

विकास आर्या

आर्या कान्तिपुर टेलिभिजन महोत्तरीका संवाददाता हुन् ।