काठमाडौं । फागुन २१ को निर्वाचनमा नमीठो पराजय भोगेका नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी अझै पनि हार स्विकार्ने मनस्थितिमा छैनन् ।
कांग्रेस अल्गोरिदमलाई दोष दिइरहेको छ, एमाले फिल्मले मतदाता भड्काएको भन्दै छ भने नेकपा अन्तर्घात गर्ने नेता खोजिरहेको छ । आत्मसमीक्षा शब्द उच्चारण पनि गर्न नचाहने यी दललाई संसदीय दलको नेतामा युवालाई अघि सारेर पापमोचन गर्ने अवसर भने आएको छ । तर यी दलका रुचि भने पटक पटक ‘टेस्टेड एन्ड फेल्ड’हरूतिरै छ ।।
फागुन २१ को निर्वाचनले दिएको स्पष्ट जनादेश हो – अब राजनीतिमा पुस्तान्तरण हुनुपर्छ । हुन पनि, प्रत्यक्षमा निर्वाचित भएका सदस्यहरूको त औसत उमेर नै ४५ वर्षभन्दा कम छ । प्रत्यक्षतर्फ ४० वर्षमुनिका नै ६४ जना निर्वाचित भएका छन् ।तर यो प्रस्ट जनअभिव्यक्ति पनि पुराना भनिएका दलहरूले अझै बुझ्न नसकेको देखिन्छ ।
उम्मेदवारीका बेला भएको गल्तीलाई सुधार्ने अवसर संसदीय दलको नेता चयनमा पाइरहँदा पनि नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका नेतृत्व तह ‘हामी सुध्रँदैनौँ’ भन्ने लयमा अघि बढिरहेका छन् । अप्ठारो अवस्थामा निर्वाचन जितेर आएका एमालेका युवा नेताहरू सुहाङ नेम्वाङ, क्षितिज थेबेलगायत संसदीय दलको जिम्मेवारी बोक्न योग्य छन् ।
सुहाङ यसअघि नै संसदीय राजनीतिमा परीक्षित र रुचाइएका नेता हुनुहुन्छ । क्षितिज युवा संघका अध्यक्ष भइसक्नुभएको नेता हुनुहुन्छ । प्रत्यक्षतर्फ चुनाव जितेका लक्ष्मीप्रसाद पोखरेल, ऐनबहादुर महर, मोहम्मद इश्तियाक राई, गणेश ठगुन्ना र अर्जुनकुमार कार्कीसमेत संसदीय दलको जिम्मेवारी बहन गर्न सक्षम छन् । तर एमाले नेतृत्वको ध्यान भने अनेक असन्तुष्टिका बीच समानुपातिकबाट सांसद बनाइएका रामबहादुर थापा, गुरु बराल र पद्मा अर्यालतर्फ छ ।
कांग्रेस पनि एमालेकै रोगले ग्रस्त छ । विशेष महाधिवेशन गरेर नेतृत्वको मुहार बदलेको कांग्रेसले पार्टीमा अन्तर्निहित जडता भने बदल्न सकेको देखिएन । संसदीय दलमा उसको रुचि पनि समानुपातिकबाट सांसद बनाइएका अर्जुननरसिंह केसी, भीष्म आङदेम्बे, पुष्पा भुसालतिरै छ ।
प्रत्यक्ष सांसद जितेका र संसदीय दलको नेतृत्व गर्न युवा सांसदहरू निश्कल राई, बासना थापा, योगेश गौचन थकाली, अभिषेकप्रताप शाह तयार छन् । तर पराजित नेतृत्वलाई विजयी युवाहरूप्रति विश्वास छैन । अर्को पुरानो दल नेकपाका संयोजक पुष्पकमल दाहाल भाग्दा भाग्दै रुकुमपूर्व पुगी चुनाव जित्नुभयो ।
निर्वाचनमा पार्टीको बिजोग हुँदासमेत उहाँको हाँक भने सानो थिएन । पार्टीको पतनमा पनि मैमत्त हुनुभएका दाहाल आफैँ संसदीय मोर्चाको कमान्ड सम्हाल्ने तयारी गर्दै हुनुहुन्छ । दुई दर्जन वाम घटक एकता गर्दासमेत त्यति नै सिट पनि जित्न नसकेका दाहालले त संसदीय नेताको मात्र होइन, पार्टी नेतृत्वकै मोह पनि त्याग्नु अब लाभदायी हुन्छ ।
संसदीय दलमा वर्षमान पुन, महेन्द्रबहादुर शाही, रमेश मल्ल, युवराज दुलाल वा गोपाल शर्मालाई जिम्मेवारी दिएर अघि बढ्ने अवसर नेकपालाई छ । यी तीनै दलले प्रतिनिधिसभामा थोरै सिट मात्र जितेकाले र राष्ट्रिय स्वतन्त्र पार्टीले झन्डै दुईतिहाइ पाएकाले यिनका संसदीय दलका नेता सरकार बनाउने निर्णायक शक्ति हुने सम्भावना छैन । तर संसदीय दलका नेताले संसदीय गतिविधमा आफ्ना सांसदहरूलाई रुलिङ गर्न पाउने व्यवस्था छ भने विभिन्न विषयमा ह्विप जारी गर्न सचेतकलाई निर्देशन दिन पाउनेछन् ।
अझ अघि बढेर हेर्ने हो भने, पार्टी पुस्तान्तरणका लागि नेतृत्व ग्रुम गर्ने अवसर पनि हो यो । यसपालिको जनमतले यी तीन दललाई सुध्रने अवसरसमेत दिएको छ । लामो राजनीतिक परिवर्तनका साझेदार यी दलहरू संसद्मा बलियो प्रतिपक्षी बन्नकै खातिर पनि सुध्रन आवश्यक छ ।
त्यसैले परिवर्तनको आभास दिलाउन पनि कांग्रेस, एमाले र नेकपाले युवाहरूलाई नै संसदीय दलको नेता र उपनेता नबनाई हुँदैन । यो ‘नन् निगोसिएबल’ हो । उनीहरू मात्र होइन, स्वयं रास्वपा र श्रम संस्कृतिजस्ता दलले पनि संसद्का सचेतकहरू युवालाई नै बनाउन अपरिहार्य छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले त विकल्पहीन भएर नै सही, युवा सांसद ज्ञानेन्द्रबहादुर शाहीलाई संसदीय दलको नेता र खुस्बु ओलीलाई प्रमुख सचेत चयन गरिसकेको छ ।
राष्ट्रनिर्माणको अभिभारा एक अमूक् व्यक्तिको काँधमा हुँदैन । आफू नभए पार्टी र राष्ट्रिय राजनीति नै अवरुद्ध हुन्छ भनेजस्तो मिथ्याज्ञान कुनै पनि नेतृत्वले पाल्न आवश्यक छैन । राजनीतिक शक्ति नयाँ पुस्तालाई हस्तान्तरण गर्ने यो सुनौलो अवसर हो । दलहरूले पापमोचनको यो अवसर खेर नफालून् ।