
विराटनगर । कोशी प्रदेशका भारतीय सीमावर्ती क्षेत्रमा लागूऔषधको कारोबारमा संलग्न युवायुवतीको संख्या बढ्दै गएको छ ।
लागूऔषध सेवन गर्ने र सीमा क्षेत्रमा त्यसको कारोबार गर्नेको संख्या बढिरहेको प्रहरी तथ्यांकले देखाएको हो । यसमा संलग्नहरूले झापाको काकरभिट्टा, सुनसरीको भन्टाबारी र मोरङको जोगबनी नाका तथा आसपासका क्षेत्रलाई कारोबारको मुख्य केन्द्र बनाएको पनि प्रहरी अनुसन्धानले देखाएको छ ।
चालु आर्थिक वर्षको आठ महिनामा कोशी प्रदेशमा लागू औषध कारोबारसम्बन्धी १ हजार २० वटा मुद्दा दर्ता भए । यसमा १ हजार १ सय १३ जना पक्राउ परे । पक्राउ पर्ने अधिकांश युवा उमेर समूहका छन् भने सबैजसो कारोबार सीमावर्ती क्षेत्रमा भएका छन् ।
प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/०८२ मा लागूऔषध कारोबारका १ हजार ४ सय ३७ मुद्दा दर्ता भए जसमा २ हजार २ सय ७६ जना पक्राउ परे । यस्तै आर्थिक वर्ष २०८०/०८१ मा १ हजार ३९ मुद्दा दर्ता भए भने १ हजार ५ सय ९८ जना पक्राउ परे । कोशी प्रदेशका झापा, मोरङ, सुनसरीमा मात्रै नभएर पहाडी जिल्लामा पनि लागूऔषध प्रयोगकर्ता बढेका छन् ।
खुला सीमा र त्यसको वारपार जोडिएको बस्ती भएका कारण कारोबार नियन्त्रण चुनौतीपूर्ण बनेको प्रहरीको भनाइ छ । इलाम, झापा, मोरङ र सुनसरीका नाकालाई कारोबारीले बढी प्रयोग गरिरहेको प्रहरी अनुसन्धानले देखाएको छ । डाइजेपाम, फेनारगन, नाइट्रोजन, फेन्सिडल, डाइजेक्स, गााजा, चरेस, आइस, अफिमजस्ता लागूऔषधको बढी कारोबार हुने गरेको प्रहरी बताउँछ ।
अझ, डरलाग्दो तथ्य त के भने-कोरोबारी अधिकांश युवा उमेर समूहका छन् । पारिवारिक तनाव, बेरोजगारी, प्रेममा असफलता, लहलहै, तनाव व्यवस्थापन गर्न नसक्दा युवा उमेर समूहका व्यक्ति यस्ता कुलतमा फस्ने गरेको मनोविद् बताउँछन् ।
नेपालमा प्रतिबन्धित औषधि सीमावर्ती भारतीय बजारका औषधि पसलमा खुलेआम बिक्री हुन्छन् । यसैले लागूऔषधको प्रयोगले हुने हानिबारे समुदायस्तरदेखि नै सचेतना आवश्यक देखिएको छ । त्यस्तै सीमा क्षेत्रमा हुने लागूऔषध कारोबारलाई नियन्त्रण गर्न दुवै देशले रणनीतिक योजना बनाएर कडाइ गर्नुको विकल्प छैन ।