
काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका-१२ बासडोलमा एक युवक शंकास्पद अवस्थामा मृत फेला परेका छन्।
बुधबार बिहान स्थानीय अम्बिर दाहालका करिब २३ वर्षीय छोरा रमित दाहाल आफ्नै घरदेखि करिब ५०० मिटर दक्षिणतर्फ रहेको सोही स्थानका विनोद केसीको खेतमा रहेको कुलोभित्र मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
स्थानीय स्रोतका अनुसार रमित दाहाल बिहान घरबाट निस्किएका थिए। केही समयपछि उनी खेतको कुलोमा अचेत अवस्थामा देखिएको सूचना स्थानीयवासीमार्फत प्रहरीमा पुगेको थियो। उक्त सूचना प्राप्त हुनासाथ प्रहरी चौकी साँगाबाट प्रहरी सहायक निरीक्षक बिमल श्रेष्ठको कमान्डमा दुई जनाको टोली तत्काल घटनास्थलतर्फ खटिएको थियो।
प्रारम्भिक रूपमा खटिएको प्रहरी टोलीले घटनास्थललाई घेराबन्दी गरी सुरक्षित राख्नुका साथै भीड व्यवस्थापन गरेको जनाएको छ। घटनाको संवेदनशीलतालाई मध्यनजर गर्दै इलाका प्रहरी कार्यालय बनेपाबाट प्रहरी नायब उपरीक्षक स्तरका अधिकृत रामेश्वर त्वातीको कमान्डमा अधिकृतसहित ६ जनाको थप प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको छ।
उक्त टोलीले घटनास्थल मुचुल्का तयार पार्ने, प्रमाण संकलन गर्ने तथा घटनासँग सम्बन्धित विभिन्न पाटोको सूक्ष्म अनुसन्धान गर्ने कार्य अघि बढाएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घटनास्थलबाट आवश्यक प्रमाणहरू संकलन गरिँदैछ भने मृतकको शव पोस्टमार्टमका लागि तयारी अवस्थामा राखिएको छ।
मृत्युको कारण खुल्न नसकेको अवस्थामा विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ। प्रारम्भिक रूपमा घटनाको प्रकृति शंकास्पद देखिएकाले दुर्घटना, आत्महत्या वा अन्य कुनै कारण हुनसक्ने सम्भावनालाई ध्यानमा राखी अनुसन्धान अघि बढाइएको छ।
घटनापछि स्थानीयवासीहरू घटनास्थलमा भेला भएका थिए भने प्रहरीको उपस्थितिमा स्थिति नियन्त्रणमा लिइएको थियो। यस घटनाले स्थानीय क्षेत्रमा केही समय तनाव र त्रासको अवस्था सिर्जना गरेको जनाइएको छ। प्रहरीले घटनासम्बन्धी थप तथ्य र विवरण संकलन भइरहेको जनाएको छ भने पोस्टमार्टम रिपोर्टपछि मात्रै मृत्युको वास्तविक कारण खुल्ने अपेक्षा गरिएको छ। अनुसन्धान जारी रहेकाले आवश्यक तथ्यहरू सार्वजनिक गरिने प्रहरीले जनाएको छ।