हुम्लाबाट गर्भवती महिलाको हेलिकोप्टरमार्फत आपतकालीन उद्धार

चैत्र ७, २०८२ |कान्तिपुर टीभी संवाददाता
हुम्लाबाट गर्भवती महिलाको हेलिकोप्टरमार्फत आपतकालीन उद्धार

हुम्ला । कर्णालीको दुर्गम जिल्ला हुम्लाबाट एक गर्भवती महिलाको नेपाली सेनाको हेलिकोप्टरमार्फत आपतकालीन उद्धार गरी प्रदेश अस्पताल सुर्खेत पुर्‍याइएको छ।

चंखेली गाउँपालिका–४ की ३४ वर्षीया बासना शाहीलाई जटिल स्वास्थ्य अवस्थाका कारण शनिबार नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरी प्रदेश अस्पताल सुर्खेत पुर्‍याइएको हाे। स्थानीय स्वास्थ्य संस्थामा प्रारम्भिक जाँचका क्रममा गर्भमै रहेको शिशुमा गम्भीर समस्या देखिएपछि चिकित्सकहरूले तुरून्तै उच्चस्तरीय उपचार आवश्यक भएको निष्कर्ष निकालेका थिए। 

दुर्गम भौगोलिक अवस्था, सडक पहुँचको अभाव र समयको संवेदनशीलतालाई मध्यनजर गर्दै तत्काल हवाई उद्धारको निर्णय गरिएको थियो। हुम्लाका प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीका अनुसार स्थानीय स्तरमा आवश्यक उपकरण र सेवा उपलब्ध नभएकाले आमा र शिशुको ज्यान जोखिममा थियो। समयमै उद्धार गर्न सकेपछि बचाउने सम्भावना उच्च भएको छ।

उक्त उद्धार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत सञ्चालन भइरहेको ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ मार्फत गरिएको हो। यस कार्यक्रमले दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी महिलालाई निःशुल्क हवाई उद्धार सेवा उपलब्ध गराउँदै आएको छ।

कर्णालीका हिमाली जिल्लाहरूमा अझै पनि स्वास्थ्य पूर्वाधारको अभाव, कठिन भौगोलिक अवस्था र यातायातको सीमित पहुँचका कारण यस्ता आपतकालीन उद्धारहरू जीवनरक्षाको मुख्य आधार बन्दै आएका छन्। चिकित्सकहरूका अनुसार बासना शाहीको अवस्था निगरानीमा राखिएको छ र समयमै गरिएको उद्धारले आमा र गर्भस्थ शिशुको ज्यान जोगिने आशा गरिएको छ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.