बोलेरो जिप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

चैत्र ३, २०८२ |सरोज थापा
बोलेरो जिप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

डोल्पा । जिल्लाको मुड्केचुला गाउँपालिका-३ काङ्ग्रे खोला क्षेत्रमा बोलेरो जिप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।

मंगलबार साँझ ईल(खर्क)बाट त्रिवेणीतर्फ जाँदै गरेको बा. १७ च. ३९७० नम्बरको बोलेरो जिप एक्कासी अनियन्त्रित भई सडकबाट करिब ३०-४० मिटर तल खसेको थियो। दुर्घटनामा जिप चालक सल्मान रोकाया (२३ वर्ष)काे घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

रोकायाकाे स्थायी ठेगाना मुड्केचुला–३ भोटगाउँ, हाल रूकुम पश्चिम त्रिवेणी बसोबास गर्दै आएका थिए । गाडीमा अन्य यात्रु भने सवार नरहेको बताइएको छ। घटनापछि इलाका प्रहरी कार्यालय कालिका डोल्पाबाट प्रहरी सहायक निरीक्षक हरक सिंह लोथ्यालको कमान्डमा पाँच जना र प्रहरी चौकी ईलबाट प्रहरी सहायक निरिक्षक विनोद कुमार थापाको कमान्डमा चारजना गरी नाै जनाको टोली घटनास्थलमा खटिएको छ।

मृतकको शव घटनास्थलमै रहेको र घटनाबारे थप अनुसन्धान तथा विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।


Image

सरोज थापा

थापा कान्तिपुर टेलिभिजन डोल्पा संवाददाता हुन् ।