
काठमाडौं । शुक्रबारदेखि सक्रिय भएको वर्षा गराउने प्रणाली कमजोर हुँदा मौसममा सुधार भएको छ ।
जल तथा मौसम विज्ञान विभागका मौसमविद् विभूति पोखरेलले मौसममा राम्रो सुधार भइसकेको जानकारी दिँदै शुक्रबार र शनिबार बिहानको जस्तो वर्षा भने नहुने बताउनुभयो । उहाँका अनुसार प्रि-मनसुनका गतिविधि भने कायम नै रहने र आइतबार पनि छिटफुट बदली भने रहने छ ।
अहिले नेपालको पूर्व क्षेत्रमा र अन्य क्षेत्रका कतैकतै हल्का वर्षा भइरहेको र यो पनि विस्तारै हट्ने उहाँको भनाइ छ । अहिलेको वर्षा गराउने प्रणाली बाहिरिए पनि घाम लाग्ने, फेरि बदली हुने क्रम भने प्रि-मनसुनमा रहिरहने तर ठूलो र अलि लामो वर्षा भने तत्काल नहुने उहाँले बताउनुभयो ।
विभागको अभिलेख अनुसार अहिले कोशी, बागमती र मधेशका केही ठाउँमा हल्का वर्षा भइरहेको छ । विभागको पछिल्लो २४ घन्टे विवरणमा पाल्पामा सबैभन्दा बढी ७५ दशमलब ८ मिलिमिटर वर्षा भएको छ । रूपन्देहीमा ७५ दशमलब २, मोरङमा ६३ दशमलब ८, धनकुटामा ६३ दशमलब २ र कपिलवस्तुमा ५९ दशमलब ६ मिलिमिटर वर्षा भएको छ ।