सल्यानटारस्थित नृसिंह धाममा पुरुषोत्तम महामहोत्सव सम्पन्न

असार ३, २०८३ |पोषनाथ अधिकारी
सल्यानटारस्थित नृसिंह धाममा पुरुषोत्तम महामहोत्सव सम्पन्न

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका १ सल्यानटारमा रहेको पवित्र धार्मिक स्थल नृसिंह धाममा एक महिना लामो पुरुषोत्तम महामहोत्सव सम्पन्न भएको छ । 

भगवान नृसिंहदेवको १२ पीठमध्ये नेपालमा रहेको एकमात्र पीठ नृहसिंह धाममा लागेको यो मेला भर्न स्वदेशबाट मात्र नभइ छिमेकी मुलुकबाट समेत ठूलो सङ्ख्यामा भक्तजन धादिङ पुगे । पुरुषोत्तम महिनाको अवसरमा पवित्र नदी नेत्रावती र बुढीगण्डकीको संगम स्थल धादिङको सल्यान्टारमा रहेको नृहसिंह धाममा जेठ १ देखि सुरु भएको विषेश धार्मिक मेला सोमबार सवा करोड बत्ती बालेसँगै सकिएको छ। 

एक महिने मेलामा स्वदेश तथा विदेशका गरी ३० लाखभन्दा बढी भक्तजन सहभागी भए । मेलामा २ लाख भक्तजनले नि:शुल्क भोजन गरे । भगवान नृसिंहदेव प्रकट भएको पवित्र स्थलका रूपमा लिइने भएकाले पनि पुरुषोत्तम महिनामा लागेको मेलामा विभिन्न स्थानबाट श्रद्धालु भक्तजनको घुइँचो लाग्यो । 

छोटो समयमा भक्तजनको अधिक आकर्षण बढेको धाममा सुरुको केही दिन आयोजकलाई व्यवस्थपन गर्न समेत हम्मे हम्मे भयो। मेलामा भक्तजनले चढाएको भेटी गन्ने काम भइरहेको र झन्डै पाँच करोड भेटी संकलन भएको अनुमान गरिएको छ । 

बहुचर्चित बूढीगणडकी आयोजना बनिसक्दा तालमुनी नै राख्नेगरी योजना अघि बढेको धाममा लागेको मेला भर्न सभामुख डोलप्रसाद अर्याल कांग्रेस सभापति गगन थापा, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनदेखि विभिन्न दलका नेता तथा विशिष्ट व्यत्तिहरु पुग्नुभयो ।

नेपालबाट मात्र नभइ छिमेकी मुलुक भारतबाट समेत लाखौं धार्मिक पर्यटक यस क्षेत्रमा मेला भर्न आउँदा स्थानीयहरु पनि उत्साही भएका छन् । यसले धार्मिक रुपमा मात्र नभइ जिल्लाको अर्थतन्त्रमा समेत योगदान पुगेको छ । भगवान नृसिंहदेव प्रकट भई भक्त प्रहृलादको रक्षा तथा हिरण्यकश्यपको विनास गरिएको स्थानका रूपमा मानिने यस क्षेत्रमा लागेको मेलामा भक्तजनको आकर्षणले यसको महत्व झन बढाएको छ । 

भक्तजनको भेटी र स्थानीय तहको सहयोगमा कन्या गुरुकुल समेत सञ्चालनमा रहेको धामको उचित व्यवस्थापन र संरक्षणका लागि सरकारी ध्यान पुग्न जरुरी छ।


Image

पोषनाथ अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका धादिङ संवाददाता हुन् ।