विश्वभर चर्चित ‘पिस डग’ अलोका लुम्बिनीमा

असार १, २०८३ |मनोज पौडेल
विश्वभर चर्चित ‘पिस डग’ अलोका लुम्बिनीमा

रूपन्देही । शान्तिका लागि भिक्षुको पाइला पछ्याउँदै अमेरिकामा एक सय ८ दिनसम्म हिँडेर साथ दिएको अलोका कुकुर अहिले नेपाल आइपुगेको छ । 

वाक फर पिस पद यात्राका नेतृत्वकर्ता भियतनामी भिक्षु पन्याकारको साथ लागेर अलोका नेपाल आइपुगेको हो । कुकुरसहित एक सय ८ दिन लामो शान्ति पदयात्रामा ३ हजार ७ सय किलोमिटर पैदलयात्रा गरेपछि यसले विश्वभर चर्चा पाएको छ।

यो शान्ति पदयात्राका अगुवा भिक्षु पन्याकरको नेतृत्वमा १८ जनाको टोली आइतबार बुद्ध जन्मस्थल लुम्बिनी आइपुगेको हो। उक्त टोलीले कुकुरसहित लुम्बिनीस्थित अखण्ड शान्ति दीपबाट मायादेवी मन्दिरसम्म पिस वाक गर्‍यो। भिक्षु पन्याकरले एउटा सानो यात्राले विश्वभर चर्चा र सम्मान पाउँदा शान्तिका लागि गरिएको प्रयास सफल भएको धारणा राख्नुभयो।

विश्व शान्तिको कामना गर्दै अमेरिकाको टेक्सासमा रहेको फोर्ट वर्थस्थित भियतनामी हुओङ दाओ विपश्यना केन्द्रबाट गत अक्टुबर २६ मा सुरु भएको यात्रा ३७ सय किलोमिटर दूरी पार गरेर वासिङटन डिसीमा फेबुअरी १० मा सकिएको थियो। धर्म, राजनीति र विचारधाराले विभाजित देखिने अमेरिकामा यो यात्राले शान्ति, करुणा मैत्रीभावप्रति गज्जबको आकर्षण देखिएको थियो । 

लुम्बिनीमा पनि पदयात्रा हेर्न सर्वसाधारणको भीड थियो । लुम्बिनीबाट सुरु भएको शान्ति शिक्षा संसारलाई नै आवश्यक भएकाले सम्पन्न गरिएको पदयात्राले लुम्बिनीको महत्व विश्वभर उजागर भएको टोलीका सदस्यहरु बताउँछन् । यो टोलीले काठमाडौंमा बौद्धनाथ, चारुमति र आनन्दकुटी विहारमा पूजाआजा गरी राष्ट्रपति रामचन्द्र पौडेललाई समेत भेट्ने छ ।

शान्ति पद यात्रामा सहभागी अलोका कुकुरले करुणाको प्रतीकका सबैको मन जितेको थियो । अलोकालाई छुन र उसँग तस्बिर र खिच्न मान्छेहरू घण्टौं पर्खिनेगरेका थिए । लुम्बिनीमा पनि अलोकालाई हेर्ने र तस्बिर खिच्नेहरू धेरै थिए । यो टोलीको भ्रमणले लुम्बिनीको महिमा र अध्यात्मिकता बढेर शान्ति पर्यटनमा टेवा पुग्ने अपेक्षा गरिएकोछ ।

खाली खुट्टा हिँडेका भिक्षुलाई पछ्याउँदै अलोका हिँड्ने गरेको थियो । कष्टकर हिमापातदेखि घामपानी छिचोल्दै बाटोका ढुंगा, किला, सिसा र तातो कालोपत्रे सडकमा अलोकाले यात्रा जारी राखेको थियो । सन् २०२२ मा भिक्षु पन्याकार भारतमा पदयात्रामा छँदा अलोकाले पछ्याएको थियो । 

त्यसबेला झन्डै १ सय दिन दुई हजार किलोमिटर हिँडेर भिक्षुहरूसँग बिताएको थियो । सन् २०२५ को अन्त्यमा भिक्षु पन्याकारसहितको टोलीले टेक्सासबाट शान्ति यात्रा सुरु गर्ने निर्णय गरेपछि अलोकालाई भारतको कोलकाताबाट अमेरिका लगिएको थियो ।


Image

मनोज पौडेल

पौडेल कान्तिपुर टीभीका कपिलवस्तु संवाददाता हुन् ।