बर्दियामा ९६ वटा घडियालका बच्चा हुर्किंदै, २०७३ साल यताकै धेरै

भाद्र ५, २०८३ |मनोज पौडेल
बर्दियामा ९६ वटा घडियालका बच्चा हुर्किंदै, २०७३ साल यताकै धेरै

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जस्थित गोही प्रजनन् केन्द्रमा घडीयाल गोही हुर्किरहेका छन् । 

माउ गोहीसँग बच्चाको लुटुपुटुले पोखरीको आकर्षण बढाएको छ । यहाँ संसारकै दुर्लभ र अतिसंकटापन्न घडीयाल गोहीका डेढ महिनाका ९६ वटा बच्चा हुर्किरहेका छन् ।

बर्दिया राष्ट्रिय निकुञ्जभित्र रहेको दुईवटा पोखरीमा घडियाल गोहीका बच्चा खेलिरहेका देखिन्छन् । केही माछा खान सिक्दैछन्, केही बच्चा घाम ताप्न पोखरीको डिलमा सुस्ताइरहेका छन् । माउबचेराको गतिविधिले यहाँ पुग्ने सबैलाई रोमाञ्चित बनाइरहेको छ ।

यो वर्ष प्रजनन् केन्द्रमा तीनवटा पोथीले गुड लगाएकोमा ९६ वटा बच्चा कोरलिए, केही अन्डा खेर गए । अघिल्लो वर्ष ९३ वटा बच्चा कोरलेकोमा ७० वटा प्रजनन् केन्द्रभित्र हुर्किरहेका छन् । घडीयालले ०८१ सालमा ५० वटा बच्चा कोरलेकामा ३२ वटा मात्रै बाँचेका थिए । 

त्यसैगरी, ०८० सालमा ८५ वटा बच्चा कोरलेकामा ६४ वटा बााचेका थिए । यस वर्ष ठूला भएका गोहीलाई नदीमा छाडने कार्यक्रम छ । प्रजनन् केन्द्रमा हुर्किएर नदी खोलामा छाड्ने बेलासम्म करिब ६० प्रतिशत बच्चा बाँच्ने गरेका छन् । तर, प्राकृतिक बासस्थानमा जन्मेका बच्चा एक दुई प्रतिशतमात्रै वयस्क हुने गरेको संरक्षणकर्मीहरू बताउँछन् ।

प्रजनन् केन्द्रका घडियाल गोहीले असार पहिलो साता बच्चा कोरलेको थियो । यी बच्चा ५ वर्षको भएपछि नदीमा लगेर छोड्ने गरिएको छ । घडियाल गोही सफा नदीमा बस्छ, माछा खाने गर्छ । यो मगर गोहीजस्तो जहाँ पायो त्यहीँ जाँदैन । यसले मानिसलाई आक्रमण गर्दैन । 

तर, बढ्दो नदी प्रदूषण, प्राकृतिक बासस्थान विनाश र नदीमा माछा मार्न जानेहरूले अन्डा फुटाइदिनेजस्ता कारणले यसको अस्तित्व संकटमा छ । २०७३ सालपछि सबैभन्दा धेरै बच्चा यो वर्ष जन्मिएकोमा निकुञ्जका अधिकारी खुसी छन् । 

घडियालको बचेरा स्याहार्न दुई जना प्राविधिक खटिएका छन् । ९६ वटा बच्चालाई दैनिक डेढ दुई किलो ससाना माछा आहारा दिनुपर्छ । आहारा खोज्न दिनदिनै नजिकका नदी खोला चाहार्नुपर्छ । प्रजनन्‌का लागि दुईवटा वयस्क भाले र ९ पोथी छन् । 

बच्चा कोरलेको ३/४ दिनमा माउ र बच्चा अलग गरिन्छ । हाल साना ठूला गरेर २ सय ७७ वटा गोही प्रजनन् केन्द्रमा छन् । घडियाल जोगिनु नदी खोलाको स्वच्छ सूचक भएकाले वातावरणीयले दृष्टिले महत्वपूर्ण मानिन्छ ।


Image

मनोज पौडेल

पौडेल कान्तिपुर टीभीका कपिलवस्तु संवाददाता हुन् ।