
चितवन । चितवन प्रशासनले मकर संक्रान्तिको दिन देवघाटमा स्नान गर्न जाने दर्शनार्थीहरूका लागि निःशुल्क बस व्यवस्था गरेको छ ।
प्याब्सन चितवनसँगको सहकार्यमा प्रशासनले सबै दर्शनार्थीहरूलाई सहजताका लागि निःशुल्क बसको व्यवस्था मिलाएको हो । भरतपुरको आँपटारीदेखि देवघाटसम्म पुग्न १० वटा बसको व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले कान्तिपुरलाई जानकारी दिनुभयाे ।
‘आँपटारीबाट सिधैं देवघाट जान बन्द गरिएको छ, फर्किँदा मात्रै त्यो बाटो प्रयोग हुन्छ, वृद्धवृद्धादेखि धेरै यात्रुहरू समस्यामा पर्ने गरेका छन्, सहज रूपमा दर्शन गर्न जानका लागि यसपटक निःशुल्क बसको व्यवस्था गरेका छौं’–प्रजिअ अर्यालले भन्नुभयाे ।
बिहीबार बिहान ६ः३० बजेदेखि दुबैतर्फ आवातजावत गर्ने गरी १० वटा बस सञ्चालन हुनेछ । आँपटारीदेखि देवघाटसम्मको बाटोमा एकतर्फी फर्किने गरी रूट निर्धारण गरिएको छ । सवारी साधनबाट देवघाट जाँदा रामनगर हुँदै जानुपर्ने हुन्छ । चितवन, तनहुँ र नवलपरासीको संगमस्थल देवघाटको बेनीमा बाँसको लिंगो ठड्याएर बुधबारदेखि नै माघेसंक्रान्ति मेला सुरू भएको छ । यो वर्ष देवघाटमा तीन लाख दर्शनार्थी मेला भर्न आउने अनुमान गरिएको छ ।