पश्चिम एसियाली द्वन्द्वले विश्व खेलकुद प्रभावित

फिफा विश्वकपमा इरानको सहभागिता अन्योलमा
फाल्गुन १९, २०८२ |सुवास रोकाया
पश्चिम एसियाली द्वन्द्वले विश्व खेलकुद प्रभावित

काठमाडौं । अमेरिका र इजरायलले इरानमाथि गरेको सैन्य आक्रमण र इरानले गरेको जवाफी प्रतिरोधले विश्व खेलकुद क्षेत्रमा गम्भीर प्रभाव पारेको छ । 

जसले गर्दा तीन महिनापछि सुरु हुने फिफा विश्वकप २०२६ मा इरानको सहभागिताबारे अनिश्चितता पैदा भएको छ । पश्चिम एसिया क्षेत्रमा हवाई उडान अवरुद्ध हुँदा क्रिकेट, टेनिस, मोटरस्पोर्ट र फुटबलका अन्तर्राष्ट्रिय प्रतियोगिता प्रभावित भएका छन् । कतिपय घरेलु लिग स्थगित गरिएका छन् भने केही अन्तर्राष्ट्रिय खेल सुरक्षा कारणले रद्द गरिएका छन् । 

यस्तो परिस्थितिमा विश्वकपको सह-आयोजक अमेरिका र सहभागी राष्ट्र इरानबीचको राजनीतिक तनावले खेलकुदमाथि प्रत्यक्ष असर पार्ने संकेत देखिएको छ । सन् २०२६ को फिफा विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्दैछन् । 

प्रतियोगिता जुन १२ देखि जुलाई २० सम्म आयोजना हुँदै छ । फाइनल खेल न्यू जर्सीको इस्ट रदरफोर्डमा खेलिने छ । इरान समूह 'जी' मा बेल्जियम, इजिप्ट र न्युजिल्यान्डसँग परेको छ र उसका सबै समूह चरणका खेल अमेरिकामा खेलिने तालिका छ ।

तर अमेरिकी र इजरायली आक्रमणपछि उत्पन्न तनावका कारण इरानको सहभागिता अन्योल भएको छ । इरानको फुटबल महासंघका अध्यक्ष मेहदी ताजले विश्वकपबारे निर्णय उच्चस्तरीय सरकारी निकायसाग परामर्शपछि मात्र हुने बताएका छन् । उनले वर्तमान अवस्थामा विश्वकपलाई आशावादी दृष्टिले हेर्न गाह्रो भएको अभिव्यक्ति दिएका छन् ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले परिस्थिति नजिकबाट निगरानी गरिरहेको जनाएको छ । महासचिव म्याथियास ग्राफस्ट्रोमले अहिले टिप्पणी गर्ने समय नभएको तर, आयोजक सरकारहरूसँग निरन्तर संवादमा रहेको बताएका छन् । प्रतियोगिता सुरु हुन तीन महिना मात्र बाँकी रहँदा सुरक्षा र कुटनीतिक चुनौतीहरू थप जटिल बन्ने देखिन्छ ।

इरान हाल अमेरिकाको यात्रा प्रतिबन्ध सूचीमा रहेकाले समर्थकहरूका लागि अमेरिका पुग्न कठिन हुने निश्चित छ । यदि द्वन्द्व अझ चर्कियो भने खेलाडी तथा पदाधिकारीको आवागमनमा समेत जटिलता आउन सक्छ । पछिल्ला केही दिनका घटनाक्रम र त्यसले उत्पन्न परिस्थितिका कारण हजारौं अन्तर्राष्ट्रिय उडान रद्द भइसकेका छन् । 

जसले विश्वकप तयारीमा संलग्न विभिन्न खेल प्राविधिक र व्यवस्थापकलाई असर पुर्‍याएको छ । विश्वकप इतिहासमा टोलीले स्वेच्छाले प्रतियोगिता त्यागेको उदाहरण अत्यन्त दुर्लभ छ । यदि इरानले सहभागिता नजनाउने निर्णय गरेमा एसियाली फुटबल महासंघअन्तर्गतको अर्को राष्ट्रले स्थान पाउने सम्भावना रहन्छ । 

छनोट चरणको नतिजाअनुसार यूएई वा अन्तरमहादेशीय प्लेअफमा रहेको इराक विकल्प हुन सक्छन्, यद्यपि यसबारे आधिकारिक निर्णय भएको छैन । यस्तै विश्व खेलकुदका चर्चित खेलाडीको खेल तालिका अनिश्चित बनेको छ । अर्जेन्टिनाका फुटबलर लियोनल मेसी, पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डो र बेलायतका फर्मुला वान चालक लुइस ह्यामिल्टन जस्ता खेलाडीहरूको कार्यक्रम प्रभावित हुन सक्ने देखिएको छ ।

मार्च २७ मा हुने 'फिना-लिस्सिमा' फुटबल प्रतियोगिता पनि अन्योलमा परेको छ । उक्त खेलमा युरोपका च्याम्पियन स्पेन र दक्षिण अमेरिकाका च्याम्पियन अर्जेन्टिना आमने-सामने हुने तालिका छ । यस खेलले मेसीलाई आफ्नो सफल करियरमा अर्को उपाधि थप्ने अवसर दिन सक्यो ।

यसबोहक पश्चिम एसिया क्षेत्रमा द्वन्द्व चर्किएपछि अन्य विभिन्न खेलकुद गतिविधिमा प्रत्यक्ष असर परेको छ । इरानको शीर्ष घरेलु लिग स्थगित गरिएको छ भने कतार फुटबल संघले आफ्ना सबै खेल अनिश्चितकालका लागि रोकेको छ । एसियाली फुटबल महासंघले च्याम्पियन्स लिगका केही खेल सार्ने निर्णय गरेको छ । 

अबुधाबीमा आयोजना हुँदै आएको युरो लिग बास्केटबलको यू-१८ प्रतियोगिता सुरक्षा कारणले रद्द गरिएको छ । इंग्ल्यान्ड लायन्स क्रिकेट टोलीको यूएई भ्रमण बिचमै रद्द भयो भने अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले टोलीहरूको वैकल्पिक यात्रा व्यवस्थापन गर्न थालेको छ ।

पछिल्ला दशकमा आयोजना स्थल, लगानीकर्ता र ठूला खेलाडीको रोजाइको गन्तव्यका रूपमा पश्चिम एसिया क्षेत्र विश्व खेलकुदका लागि महत्वपूर्ण केन्द्र बनेको थियो । तर वर्तमान द्वन्द्वले त्यहाँको खेल गतिविधि प्रभावित हुने संकेत देखिएको छ ।

फिफा विश्वकप जस्तो विश्वकै सबैभन्दा ठूलो खेल महोत्सवसमेत भू-राजनीतिक तनावबाट अछुतो रहन सकेको छैन । अहिलेको मुख्य प्रश्न इरान विश्वकपमा सहभागी हुन्छ कि हुँदैन भन्ने भन्दा पनि विश्व खेलकुद समुदायले यस्तो संकटबीच कसरी एकता, सुरक्षा र खेल भावनालाई जोगाउँछ भन्ने पनि हो । आगामी हप्ताहरूमा हुने कुटनीतिक तथा खेल प्रशासनिक निर्णयले विश्वकप २०२६ को स्वरूप निर्धारण गर्नेछ ।


Image

सुवास रोकाया

रोकाया कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।