पानीको विषयमा विवाद, समाधानका लागि वडा कार्यालयमा निवेदन

फाल्गुन १९, २०८२ |उत्तम चौलागाईं
पानीको विषयमा विवाद, समाधानका लागि वडा कार्यालयमा निवेदन

खोटाङ । जिल्लाको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-९ निर्मलीडाँडामा पानीको विषयमा विवाद उत्पन्न भएकाे छ । 

साविकको निर्मलीडाँडा-४ सिंगानेमा रहेको कागेथला मुहानको पानीको विषयमा किचलो सुरू भएको हो । कागेथला मुहानको पानी कटौती गरिएको भन्दै सिंगाने बर्खेडाँडाका-७ का उपभोक्ता न्याय खोज्दै फागुन १९ गते वडा कार्यालय पुगेका छन् । 

विगत १२ वर्षदेखि प्रयोग गर्दैआएको पानीको पाइपलाई काँटीले छेडेर बिचैमा पानी खसाइएको उपभोक्ता बाचनप्रसाद ढकालले बताउनुभयाे । कागेथला मुहान स्थानीय शिक्षक शंकरमान खत्रीको भोकाधिकारभित्रको जग्गामा पर्छ । खत्रीले फागुन १६ गते पाइप छेडेर एक धारा पानी अर्कैतिर दिएको निवेदनमा उल्लेख छ । 

उपभोक्ताका अनुसार पाइप छेडेर जोराखरडाँडामा एक धारा खसाइएको छ । सहमती विपरीत पानी कटौती हुँदा पानीको अभाव भएको बर्खेडाँडाबासीको गुनासो छ । शिक्षक खत्रीले भने पानी ‘बन्द’ गरिदिएको नभै एक घरका लागि पाइप छेडेर धारा खसाइएको प्रतिक्रिया दिनुभयाे ।

तत्कालिन गाबिसले उपलब्ध गराएको बजेटबाट २०७१ साल जेठ १९ गते कागेथला मुहानको पानी बर्खेडाँडामा लगिएको थियो । सो मुहानको पानी बाचनप्रसाद ढकाल, उद्धवप्रसाद ढकाल, चिरञ्जिबी ढकाल, पुष्पलाल ढकाल, भिममायाँ ढकाल, गोपाल ढकाल र डम्बरबहादुर चौहानले उपयोग गर्दैआएका छन् ।

चुनावको मुखमा पाइप छेडेर धारा खसाल्नु र पानी कटौती गरिनुलाई कतिपयले मत प्रभावित पार्न खोजिएको अर्थमा पनि टिप्पणी गरिरहेका छन् । पानी कटौतीको विषयमा कतिपयले सामाजिक सञ्जालमार्फत विरोध गरेका छन् । यस्तै, बर्खेडाँडाका उपभोक्ताले २०४० सालदेखि उपभोग गर्दै आएको उवारेधारा पँधेरो खोला मुहानको पानी उपयोगमा पनि बाधा गर्न खोजिएको भन्दै निकास खोज्न वडा कार्यालयलाई आग्रह गरेका छन् ।

निवेदनका विषयमा दुवैपक्षलाई छलफलमा राखेर पीडितलाई न्याय दिलाउने वडाध्यक्ष दिनेश कठेतले प्रतिक्रिया दिनुभयाे । शिक्षक खत्री निर्वाचन आचारसंहिता विपरीतका गतिविधिमा संलग्न भएको पाइएकाले कानुनअनुसार कारबाही अघि बढाइने वडाध्यक्ष कठेतले बताउनुभयाे ।


Image

उत्तम चौलागाईं

चौलागाईं कान्तिपुर टेलिभिजनका खोटाङ संवाददाता हुन् ।