काठमाडौं । अमेरिका र इजरायलको आक्रमणपछि इरानले हर्मुज जलमार्गमा रोक लगाएपछि विश्व तेल आपूर्ति नै प्रभावित हुने देखिएको छ ।
आक्रमणका कारण विश्वबजारमा पेट्रोलियम पदार्थ, डलर र सुनको भाउमा वृद्धि देखिइसकेको छ भने युद्ध लम्बिए नेपालमा समेत प्रभाव पर्ने विज्ञले बताएका छन् । सामान्य अवस्थामा डलर बढ्दा सुन घट्ने र सुन घट्दा डलर बढ्ने गरेको देखिन्थ्यो । विश्वका केन्द्रीय बैंकले डलरभन्दा सुनको माग बढाएकाले नै सन् २०२५ को सुरूआतमा २६ सय २४ डलर प्रतिऔस रहेको सुनको भाउ एक महिनाअघि ५ हजार ५ सय पुग्यो ।
तर, अमेरिका युरोपेली मुलुकको करमा लचिलो देखिएपछि ४ हजार ८ सय सम्म झरेको थियो । तर इरानमाथि अमेरिका र इजरायलको आक्रमणपछि भने अहिले फेरि विश्वबजारमा सुनको माग र भाउ दुबै बढाएको छ । तर सुनको माग बढ्दा पनि डलरको माग झनै बढेको छ । यी दुवैको मूल्य कति बढ्छ भन्ने कुरा यो युद्ध कति लम्बिने छ भन्नेमा भरपर्ने विज्ञ बताउँछन् ।
इरानले अहिले तेल आपूर्ति गर्ने समुद्रीमार्ग हर्मुजमा रोक लगाएपछि विश्वबजारको तेल आपूर्ति नै असहज भएको छ । विशेषगरी चीन, भारत र अन्य दक्षिण एसियाली मुलुकमा तेल आपूर्ति प्रभाव पर्नेछ । साथै कतारस्थित सरकारी ग्यास उत्पादन केन्द्रमा इरानले आक्रमण गरेपछि उत्पादन प्रभावित भएको छ ।
जसका कारण कच्चा तेलको मूल्य प्रतिब्यारेल १ सयदेखि १ सय २० डलरसम्म पुग्न सक्ने आकलन गरिएको छ । स्थिति अझै लम्बिए कच्चा तेलको मूल्य बढ्दै जाने र यसले विश्वबजारमा महंगी बढाउने विज्ञ बताउँछन् । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले यो युद्ध ४ देखि ५ हप्तासम्म लम्बिने बताएका छन् ।
युद्ध लम्बिए सुन, डलर र पेट्रोलियम पदार्थको मूल्य बढ्नेछ भने केही दिनमै स्थिति सामान्य भए सुन तथा कच्चा तेलको मूल्य पुन ओरालो लाग्न सक्छ ।