जाजरकोटमा निर्वाचन र आमसञ्चार विषयक अन्तरक्रिया सम्पन्न

फाल्गुन १२, २०८२ |सरोज वली
जाजरकोटमा निर्वाचन र आमसञ्चार विषयक अन्तरक्रिया सम्पन्न

जाजरकोट । जिल्ला निर्वाचन कार्यालय जाजरकोटले जिल्लामा क्रियाशील सञ्चारकर्मीहरूसँग निर्वाचन र आमसञ्चारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। 

आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्ने उद्देश्यले मतदाता शिक्षा तथा निर्वाचनसम्बन्धी सूचना प्रभावकारी रूपमा प्रवाह गर्न सञ्चारकर्मीहरूसँग छलफल गरिएको हो। कार्यक्रममा निर्वाचन अवधिभर सञ्चारमाध्यमले तथ्यमा आधारित भएर समाचार संकलन, प्रकाशन तथा प्रसारण गर्नुपर्ने विषयमा जोड दिइएको थियो। साथै, अपवाह फैलाउने खालका सामग्री उत्पादन तथा प्रसारण नगर्न सञ्चारकर्मीहरूलाई आग्रह गरिएको थियो।

मुख्य निर्वाचन अधिकृत दुर्गा प्रसाद खनालले निष्पक्ष र शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्न सञ्चारकर्मीहरूको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै सत्यतथ्यमा आधारित सूचना संकलन र प्रसारण गर्न आग्रह गर्नुभयो। त्यसैगरी, जिल्ला निर्वाचन अधिकारी रामलाल प्याकुरेलले पनि तथ्यपरक समाचारमार्फत आममतदातालाई सहि सूचना प्रवाह गर्न सबै पत्रकारहरूलाई अनुरोध गर्नुभयो।

कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन आफूहरू जिम्मेवार ढंगले भूमिका निर्वाह गर्ने जनाएका थिए ।


Image

सरोज वली

वली कान्तिपुर टेलिभिजनका जाजरकोट प्रतिनिधि हुन् ।